भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्कियो , कारण यस्तो

भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्कियो , कारण यस्तो

रोयटर्स (एजेन्सी): भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्किएको छ। कफ्र्यु जारी रहेकै समयमा विभिन्न स्थानमा झडप भएको छ भने संघीय मन्त्रीकै घरमा आगजनी गरिएको छ। गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न राज्यसहित केन्द्र सरकारलाई पनि सिफारिस पठाउन भनेपछि कुकी जनजाति आन्दोलित छन्। यहाँ कुकु जनजाति समूह र मैतेई समुदायबीच हिंस्रक जातीय संघर्ष सुरु भएको एक महिनाभन्दा बढी भएको छ।

गत मे ३ मा कुकी समुदायको अल ट्राइबल स्टुडेन्ट्स युनियनले ‘आदिवासी एकता मार्च’ निकालेपछि मणिपुर रणभूमिजस्तै अवस्थामा परिणत भएको अवस्था छ। मैतेई अनुसूचित जातिमा सूचीकृत हुनु हुँदैन भनेर कुकीले सुरु गरेको आन्दोलन विस्तारै सशस्त्र आन्दोलनमा रूपान्तरण भएको छ।

कुकी जनजाति समूहले स्थानीय मैतेई समुदाय, अदालत र सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। अहिले कुकी जनजातिका सशस्त्र समूह सरकारी सेना र प्रहरीसँग युद्ध लडिरहेका छन्। कुकीले मैतेई समुदायको घर तथा मन्दिरमा आक्रमण गरिरहेको छ भने मैतेईले पनि कुकीका चर्च र घरहरूमा तोडफोड गरिरहेको छ।

सोही आक्रोशित भीडले संघीय मन्त्रीकै घरमा बिहीबार आगो लगाइदिएका हुन्। बिहीबार राति सयौंको भीडले केन्द्रीय विदेश मामिला र शिक्षा राज्यमन्त्री आरके रन्जन सिंहको घरमा आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मन्त्रीको घरमा ९ जना प्रहरी र ५ जना सुरक्षागार्ड सुरक्षा दिन बसेका थिए। तर, १२ सय बढीको भीड एक्कासि घरमा पुगेपछि उनीहरू निरीह बने। तर, कुन समूहले मन्त्रीको घरमा आगजनी गरेको भनेर केही खुलाइएको छैन।

आक्रोशित भीडले तोडफोड मच्चाउँदै र पेट्रोल बम प्रहार गर्दै भाजपाका सांसद सिंहको घरमा आगजनी गरिदिएका हुन्। तर, घटना हुँदा मन्त्री र उनका परिवार त्यहाँ थिएनन्। कफ्र्यु जारी भएकै समयमा सुरक्षाकर्मीको अगाडि नै मन्त्रीको घरमा आगो लगाइएपछि हिंसा अझै चर्किने आशंका गरिएको छ। बिहीबार मात्र त्यहाँ कुकी जनजाति र मैतेई समुदायका नागरिकबीच झडप हुँदा ९ जनाले ज्यान गुमाएका थिए।

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहका अनुसार कुकी समूहका सशस्त्र लडाकुहरूलाई खोज्न हेलिकप्टरसहित १० हजार सेना र आसाम राइफल सक्रिय छन्। टाइम्स अफ इन्डियाका अनुसार द्वन्द्वमा दुवैतर्फ गरी एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ४० हजार सर्वसाधारण विस्थापित भएका छन्। मैतेई समुदायलाई अनुसूचित जातिमा सूचीकृत गरिएमा वन क्षेत्रमा कायम पुख्र्यौलीदेखिको आफ्नो नियन्त्रण गुम्ने र शैक्षिक संस्थामा पनि आफ्नो हिस्सा खोसिनेमा कुकी समुदाय चिन्तित छ। इन्टरनेट सेवासमेत बन्द गरिएको मणिपुरमा प्रदर्शनकारी देख्नासाथ गोली चलाउने आदेशसहित सुरक्षाकर्मी तैनाथ गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्