विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री लिम्बुले नेकांका एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको चर्चा गर्दै त्यसका लागि टोल एवं वडास्तरमा सङ्गठन विस्तार गरी जनताको घरघरमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय चलचित्रमा सीतालाई भारतीय छोरी हुन् भनेर गरिएको गलत जानकारीलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा राख्नुपर्ने तर्क गर्नुभयो ।
मन्त्री लिम्बुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा जनकपुर आएर सीताको जन्मभूमि नेपालको जनकपुर हो भनेर पटकपटक मन्तव्य व्यक्त गर्नुभएको चर्चा गर्दै नेपाल र भारतको सम्बन्ध रामायणको पालादेखि भएकाले त्यसमा विवाद गर्नु आवश्यक नभएको विचार व्यक्त गर्नुभयो ।
उहाँले हाम्रा क्रिकेट खेलाडीले पूर्वाधार र सुविधा विहीन अवस्थासमेतमा धेरै राम्रो खेल प्रदर्शन गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । मन्त्री लिम्बुले आगामी दिनमा मोफसलमा खेलकूदको पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय खेलको लागि खेलाडी छनौटको व्यवस्था मिलाउने बताउनुभयो । रासस