गत आइतबार सेयर बजारमा उछाल देखियो । नेप्से परिसूचक ६२ अंक बढ्यो भने कारोबार रकम साढे पाँच महिना यताकै उच्च भयो । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पुस २६ गते ७ अर्ब ६५ करोड रुपैयोँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
आइतबार उच्च अंकले बढेको बजार सोमबार त्यसलाई निरन्तरता दिन साढे ११ अंकले बढ्यो । सोमबार नेप्से ०.५५ प्रतिशतले बढेर २१२९.४२ विन्दुमा बन्द भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भयो । केही दिन अघिसम्म लगातार घटेको नेप्से परिसूचक र कारोबार रकम एक्कासि बढ्दा आमलगानीकर्ता पनि उत्साहित भएका छन् । तर, कतिपय लगानीकर्ता यसलाई स्वाभाविक रूपमा लिन्छन् ।
गत वर्षको यही अवधिको सूचक हेर्दा पनि अहिलेको बढाइ मोटाएको भन्दा सुन्निएको देखिन्छ । गत वर्षको असार महिनामा पनि बजार एकैदिन ९४ अंकसम्म बढेको थियो । त्यस्तै, बजार बढ्ने मात्र हैन यो महिना एकैदिन बजार ४६ अंकले घटेको पनि छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्षको असार १२ गते नेप्से परिसूचक ९४ अंक बढेर १९५६.९८ विन्दु कायम भएको थियो । सो दिन दुई अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस्तै, असारमा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता सहज हुँदै जानुका साथै मौद्रिक नीतिप्रति लगानीकर्ता आशावादी हुँदै जाँदा पनि अन्य महिना भन्दा यस महिनामा नेप्से परिसूचक बढ्ने गरेको छ । गत वर्ष असार १२ गतेदेखि मौद्रिक नीति घोषणा हुने दिनसम्म बजार उच्च अंकले पाँच करोबार दिन बढेको थियो । असार १२ गते ९४.९२ अंक, असार १५ गते ४१.३९ अंक, असार १६ गते ७४.९४ अंक, असार १९ गते ५७.६५ अंक र असार २८ गते ५९.५४ अंकले परिसूचक वृद्धि भएको थियो ।
सो अवधिमा बजार उच्च अंकले बढेको मात्र छैन घटेको पनि छ । असार २७ गते नेप्से १११.७१ अंकले घटेको थियो । उक्त दिन नेप्सेमा नकारात्मक सर्किट लागेर कारोबार बन्दसमेत भएको थियो । त्यस्तै, यस अवधिमा नेप्से सात कारोबार दिन १० अंकभन्दा बढी अंकले घटेको तथ्यांक देखिन्छ ।
असार अन्तिममा सूचीकृत कम्पनीहरूले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले पनि राम्रा कम्पनीको सेयर खरिद गर्नेको चाप बढ्दा कारोबार र परिसूचक वृद्धि हुने गरेको छ ।