विराटनगर । “व्यापारी एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ विराट व्यापार संघले विविध कार्यक्रम गरी आफ्नो २३ औँ स्थपना दिवस मनाएको छ ।
संघले मंगलबार विहान स्थापना दिवशको अवसरमा रक्तदान गर्नुका साथै उद्योग संघठन मोरङका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
विराटनगरमा पछिल्लो समय रगतको अभाव भईरहेको बेला संघले खुल्ला रक्तदान गरेको कार्यक्रम संयोजक शिवरतन जोशीले जानकारी दिनुभयो ।
‘खेर जाने रगतलाई दिन सके दान, आशिष लाग्छ मान्छेको बच्न सक्छ ज्यान’भन्ने नारा सहित संघले रक्तदान गरेको छ ।
खुल्ला रक्तदान कार्यक्रममा ६६ पिन्ट रगत संकलन भएको कार्य समिती सदस्य भवेश पौडेलले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा विभिन्न उद्योगी, व्यापारी तथा संघका पदाधिकारी सदस्य र आमनागरिकहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई सम्मान सहित प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
त्यसैगरी संघले भर्खरै नव निर्वाचित उद्योग संघठन मोरङका अध्यक्ष राकेश सुरना सहित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई सम्मान गरेको स्वागत तथा सम्मान कार्यक्रमका संयोजक महेन्द्र खेतानले जानकारी दिनुभयो । साथै सम्मान कार्यक्रममा विराट व्यापार संघका सस्थापक अध्यक्ष ध्रव दाहाल, संघका पुर्व अध्यक्ष यादव पोखरेल, राम जिवन अग्रवाल, शिव प्रसाद रिजाललाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई विराट व्यापार सघका अध्यक्ष नरेश खत्रीले खदा र माला लगाएर सम्मान गरेका थिए ।