विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।
नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको हो।
युवाहरूलाई बैंकले सामाजिक उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिमको उद्घाटन विराटनगर महानगरपाकिका प्रमुख नागेश कोइरालाले गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले दैनिक हजारौंको संख्यामा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा उद्यमशीलता तालिम सञ्चालन गर्नु सराहनीय रहेको बताए ।
प्रमुख कोइरालाले युवाहरूलाई हरेक क्षेत्रमा रोजगारमुलक तालिम सञ्चालन गर्नका लागि नविल बैंकसँग पनि सहकार्य गरेर महानगर अगाडि बढ्न तयार रहेको उनले बताए ।
नबिल बैंकले युवाहरूका लागि सामाजिक उतरदायित्व अन्तर्गत २०७९ असारदेखि चार महिने उद्यमशीलता तालिम सबै प्रदेशमा सञ्चालन गर्ने क्रममा मोरङ क्याम्पसमा पनि सुरुवात गरेको सो बैंकका कोशी प्रदेश प्रमुख सुवोध लोहनीले बताए । यो तालिम लिइसकेपछि बैंक र समाजको हितमा काम गर्न सफल हुने उनले दावी गरे ।
कार्यक्रममा मोरङ क्याम्पसका निमित्त प्रमुख डा.सुशील अधिकारी, उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराई, मोरङ व्यापार संघका प्रवक्ता विनित सिंघानिया, युवा उद्यमी राघव कोइराला, उपप्राध्यापक शिवचन्द्र चौधरी, स्ववियु सभापति जसवन्त पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
तालिममा मोरङका २५ प्रशिक्षार्थीहरू सहभागी छन् । ' नबिल एसएसई' कोशी प्रदेशका संयोजक वेदप्रसाद संग्रौलाका अनुसार बैकले गत वर्ष मोरङ क्याम्पसमा पहिलो ब्याचको तालिममा पनि २५ सहभागी भई प्रशिक्षित भएको जनाए ।
समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।