विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट पुनः परिवर्तन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको नयाँ मेसुको रुपमा डा चन्द्रभाल झालाई नियुक्त गरेका हुन् । यो निर्णय आइतबार भएको छ ।
कोशीमा गत १ फागुनमा डा रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो । उनी पाँच महिनामा बिदाई भएका हुन् । मन्त्री बस्नेतले डा सिंहलाई आफ्नै पुरानो जिम्मेवारीमा फर्काउँदै डा झालाई मेसुमा नियुक्त गरेका हुन् । मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गर्ने हल्ला पहिल्यै चलेको थियो ।
स्वास्थ्य मन्त्रालयमा मन्त्री फेरिएपछि कोशीमा मेसु फेरिने परम्परा दोहोरिने संकेत पहिल्यैदेखि देखिएको थियो । कोसी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था हो । अस्पतालमा राजनीतिक र व्यक्तिगत स्वार्थ हाबी हुँदा मन्त्री फेरिएपछि पार्टीगत मेसु नियुक्ति गर्ने चलन चल्दै आएको छ ।
गत फागुन १ गते निमित्त मेसुको जिम्मेवारी पाएका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंहलाई हटाएर अस्पतालमा नयाँ मेसु नियुक्त गरिएको छ । दुई महिना नपुग्दै उनलाई हटाउने हल्ला चलेको थियो । सिंह अर्का चिकित्सक डा.लक्ष्मीनारायण यादवलाई हटाएर नियुक्त भएका थिए ।
कोशी अस्पतालमा व्यापक लगानीमा संरचना निर्माण हुँदैछ । त्यसले समेत मेसु परिवर्तनलाई पक्ष र विपक्षमा राखिन्छ । अस्पताल विकास समितिले समेत मेसु हेरेर आफ्ना गतिविधि गर्ने गर्दछन् । अस्पताल विकास समिति एमाले निकट छ । मेसु पनि एमाले निकट नै ल्याउने चाहना राखेर सरकार फेरिने वित्तिकै सिंहलार्य ल्याइएको थियो । तर, एमाले–माओवादी सरकार लामो टिकेन । अहिले माओवादी–काँग्रेससँग स्वास्थ्य मन्त्रालय रहेको छ । काँग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परेपछि नयाँ मेसु नियुक्त गरिएको हो ।
पछिल्लो १८ महिनाभित्र मात्रै अस्पतालमा ४ जना मेसु फेरिएका छन्। २०७८ फागुन ५ मा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइयो। उनलाई हटाएर २०७९ भदौ १६ गते वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवलाई स्वास्थ्य मन्त्रालयले निमित्तको जिम्मेवारी दियो। यादवका ठाउँमा २०७९ फागुन १ गते ड.। सिंहलाई उक्त जिम्मेवारी दिइएको हो। यस बीचमा फेरिएका सरकार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका आधारमा मेसु आएका हुन् ।
२०६१ सालयता अस्पतालमा १८ जना मेसु परिवर्तन भइसकेका छन्। सरकार जसरी परिवर्तन हुन्छ, स्वास्थ्य मन्त्रालयमा मन्त्री फेरिए जस्तै कोशीमा मेसु पनि परिवर्तन हुने गरेको छ । अस्पतालमा ३ सय ५० बेड सञ्चालनमा छ। दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि १ हजार ५ सय जनाभन्दा बढी आउने गरेका छन्। लगभग २ सय जना आकस्मिक विभागमा भर्ना हुन्छन्। विभिन्न वार्डमा भर्ना हुनेको संख्या दैनिक ३ सय हाराहारी रहेको अस्पतालले जनाएको छ।
१ सय ३२ वर्ष पुरानो अस्पतालले कोशीसहित मधेस प्रदेश र भारतका बिरामीलाई सेवा दिइरहेको छ। अस्पताल प्रशासनले १ हजार १ सय २५ जनाको दरबन्दी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ । अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स कार्यरत छन्। तर, स्वास्थ्यकर्मी र कर्मचारी अपुग रहेको अस्पताल प्रशासनले जनाएको छ।