विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी सस्थाले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह सम्पादक सन्तोष सिग्देल र नेपाल टाइम्स अनलाइनकी कार्यक्रम संयोजक रन्जिता पोखरेललाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो ।
उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको बाह्रौ स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो । प्रधान तोरेन्द्र-इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा.संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ ।
गत बर्षदेखि सुरु भएको यो पुरस्कार पहिलो बर्ष शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाइ प्रदान गरिएको थियो ।
कट्टेल २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाच लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । यसभन्दा अगाडि सो पुरस्कार इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ र मोहन मान्नधरलाई प्रदान गरिसकिएको छ ।
यस्तै २०७९ सालको मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सिग्देललाई प्रदान गर्ने भएको हो । यसभन्दा अगाडि सो पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य र बाबुराम भण्डारी पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।
यस्तै पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् । सो पुरस्कारको राशि १० हजार छ । यस अघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ, एलिना दियाली र उषा सरदार पुरस्कृत भैसकेका छन् ।
मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार कोशी प्रदेसमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दिपक दाहालको अध्यक्षतामा बिहिबार बसेको बैठकले छनौट समितिले सिफारिस गरेको नामलाइ अनुमोदन गर्दै चारैवटा पुरस्कारको घोषणा गरेको हो । पुरस्कार संस्थाको एघारौं स्थापना दिवसको अवसरमा २०८०असार २७ गते प्रदान गरिने संस्थाका सचिव बिजय खतिवडाले जानकारी दिए ।
छ्नौट समितिमा सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिब खनाल, सञ्चारकर्मी सञ्चार सहकारी संस्थाकि सदस्य शान्ति गौतम दाहाल र पुरस्कार दाताको परिवारको प्रतिनिधि रहेका थिए ।