विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले दिर्घकालिन असर पर्ने कुनैपनि निणर्य नगर्न अन्तरिम आदेश दिएको छ ।
आज (सोमबार) न्यायधीश सपना मल्ल प्रधानको इजलासले रिटको सुनुवाइपछि मुख्यमन्त्री नियुक्त भएका थापालाई मुद्दाको किनारा नभएसम्म दिर्घकालिन असर पर्ने कुनैपनि निणर्य नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रुपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा सर्बोच्चले अन्तरिम आदेश दिएको हो ।
रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेसी तोकिएको छ ।
साउन ७ गतेदेखि मुद्दाको निरन्तर सुनुवाई हुने आदेशमा उल्लेख छ । कार्कीले रिटमा संविधानको धारा १६८ (२) अनुसार थापाको नियुक्त अबैध भएकोले खारेज गरि १६८(३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन् ।
कार्कीको रिटमा थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमाथि कार्कीको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा.भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा.सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललले बहस गर्दैछन् ।