विराटनगर । कोशी अस्पताल विराटनगरको ओपीडीमा स्वास्थ्य परीक्षण गराउने क्रममा एकजना महिलाको मृत्यु भएको छ । आकस्मिक विभागमा भर्ना भएको बिरामीलाई चिकित्सकको परामर्शका लागि ओपीडीमा रेफर गरिएको थियो । मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको चिकित्सकको परामर्श लिन ओपीडीमा घुम्दाघुम्दै मृत्यु भएको हो ।
गत असार २४ गते पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक विभागमा पुगेकी थिइन् । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडिको स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरेका थिए । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउँदेखेपछि सर्जरी वाडमा रेफर गरिदिएका थिए ।
त्यसपछि चिकित्सकसँग परामर्श लिने क्रममा रहेँदा राजवंशीको ओपीडीको वाडमा २४ असारमा दिउँसो मृत्यु भएको थियो । राजंवशी लामो समयदेखि पटेको समस्या रहेको थियो । उनको केही समय अगाडी पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरी पाठेघरको समस्या बल्झिएपछि उनी कोशी अस्पताल आएकी थिइन् ।
कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले घटना छानविन भईरहेको बताए । कोशी अस्पतालका पुर्व मेसु डाक्टर यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्य समिति गठन गरिएको मेसु झाले जानकारी दिए ।