विराटनगर । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्धेश्य सहित विराटनगरमा ‘कोरा साइक्लिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ ।
नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईकल परिक्रमा आयोजना गरिएको हो । कार्यक्रममा ६० जना भन्दा बढी साईकल सवार यूवाहरु सहभागि भएका छन् । जनआन्दोलन चोकबाट शुरु भएको साईकल सवार सहभागि युवाले धरानरोड राजवंशी चोक,पुष्पलालचोक बाट मेनरोडहुँदै विराटनगर महानगरपालिकाका विभिन्न भागको परिक्रमागर्दै फेरी जनआन्दोलनचोक आईपुगेका थिए ।
सो क्रममा सहभागिले झण्डै १२ किलोमिटर सडकको यात्रा गरेका थिए । यसपटक तेश्रो संस्करणको साईकल परिक्रमा आयोजना गरिएको नेपाली यूवा उद्यमी मञ्चका अध्यक्ष रंजित भगतले जानकारी दिनुभयो । उहाँले विराटनगरमा मात्र नभई एकैसाथ देशभरिनै यसप्रकारको कार्यक्रम आयोजना गरिएको जस्मा झण्डै ४ हजार साईकल सवार युवाहरु सहभागी भएको बताउनुभयो ।
ईभेन्टमा सहभागिताका लागि कुनै प्रकारको दर्ता शुल्क नराखिएको तर सहभागिले स्वेच्छा अनुसार उपलब्ध गराएको रकम संकलन गरेर एकमुष्ट भुकम्प प्रभावित टर्की र सिरिया पठाईने अध्यक्ष भगतले जानकारी दिनुभयो ।
कार्यक्रममा आयोजक मञ्च र रोटरी आबद्ध युवाहरुका साथै साईकलिङका शौखिन युवाहरुले सहभागिता जनाएका थिए । बितेको बर्ष फागुनमा टर्की र सिरियामा आएको भुईचालोमा परी हजारौं ब्यक्तीको ज्यान गएको थियो भने अर्बौको धनमाल नष्ट भएको थियो ।