जोगबनी गएर किनेको सामानको विराटनगर भन्सारमा बिल समेत कटेन

<span class='c1'>जोगबनी गएर किनेको सामानको विराटनगर</span> <span class='c2'>भन्सारमा बिल समेत कटेन</span>

विराटनगर । सुनसरी दुहबी नगरपालिका निवासी बिन्दु गच्छदार सोमबार पाँच लिटर तोरी तेल बोकेर जोगबनीबाट रानी भन्सार क्षेत्रमा आईपुगिन् । सशस्त्र प्रहरीले सडकबाट भन्सार काट्न काउन्टर पठाए । उनी भन्सारको काउन्टर पुगिन् तर पाँच लिटर तोरी तेलको भन्सार कटेन !

नियमनुसार १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बुझाएपछि गच्छदारले उक्त वस्तु ल्याउनु पर्ने थियो तर कागजात पु¥याउन भन्सारका कर्मचारीले उनलाई आग्रह गरे । खाद्यवस्तु भित्र्याउँदा खाद्य परीक्षण प्रतिवेदन समेत हुनुपर्ने नियम भएपछि उपभोक्ताले ल्याएको वस्तुको भन्सार नकाटिएको हो । गच्छदारले भनिन्–भन्सार काट्न जाँदा हुँदैन फिर्ता गरेर आउन भने, फिर्ता गर्न जाँदा (जोगबनी) बिक्री भईसकेको भन्दै मानेनन् ! कुन कामले जोगबनी पुगेकी गच्छदार वारपारी दौडिरहेकी थिइन् ।

सुनसरीको बर्जु गाउँपालिकाबाट आएकी उषा खवासले तीन हजार मूल्य बराबरको सामान किनेर भन्सार आएपछि उनलाई २० प्रतिशत भन्सार बुझाउन आग्रह गरिएको थियो । उनले खरिद गरेको सामानमा थिए–तीन जोर जुक्ता र एउटा पर्स । तीन हजार मूल्य बराबरको उक्त वस्तुको भन्सार छ सय रुपैँया बुझाउन भनिएपछि खवास कुनै बाटो भएर लुसुक्क भाग्न पाए हुन्थ्यो भने झैं भएकी थिइन् । उनी पनि दैनिक वारपार गरेर सामान ल्याउने जस्तो देखिदैन थिइन् । तर, घरायसी सामान खरिद गर्न भरसक जोगबनी आइरहने गरेको बताइन् ।

बिन्दु र उषा जस्तै कटहरी गाउँपालिका–५ की गीतादेवी रामले ५३० रुपैँया बराबर मूल्यको धनियाँ, चना लगायतको सामान लिएर आएकी थिइन् । उनलाई पनि भन्सारका कर्मचारीहरुले खाद्य परीक्षण प्रतिवेदन बिना जाँचपास गर्न नमिल्ने भन्दै जहाँ किनेको उहिं फिर्ता गरिदिन भनेका थिए । के कति कामले जोगबनी पुगेर आएकी राम ५३० रुपैँयाको सामान छोडेर घर हिड्ने अवस्थामा पुगेको सुनाउँदै थिइन् ।
घरायसी दैनिक प्रयोजनका लागि सामान ल्याउने यी तीनजना महिला नरम स्वभावमा राज्यले लगाएको कानुन मान्न तयार देखिन्थे । भन्सार नजिकै रहेको एक हुल भने नागेश कोइरालाले गर्दा भन्सार कडाई भएको भन्दै कराई रहेका थिए । त्यो समूहमा भएकामध्ये विराटनगर–१७ रानी निवासी बन्दना राय र रुक्सना खातुन भने चर्को स्वरमा मेयर कोइरालाको विरोध गाईरहेका थिए । दैनिक क्यारिङ्ग चलाउने राय र खातुनले रानी नाका बन्द गराएर सहायक नाकाबाट तस्करी चलाउन खोजेको आरोप मेयर कोइरालालाई लगाए । उनीहरुले कराएको सुनिरहेका प्रहरीले क्यारिङ्गवालाहरु भन्ने चिनेकी थिए । यीमध्येकी खातुनले भनिन्–‘चुनावमा जिताएर गलाभरीको माला लगाएको गुन नागेश कोइरालाले फर्काए ।’

राय र खातुनको समूहमा रहेकाहरु फटाफट बोल्न सक्ने क्षमता राख्थे । कारण, उनीहरुको दैनिक आम्दानीको स्रोत भनेको जोगबनीबाट सामान क्यारिङ्ग गरेर आफ्नो पसलसम्म ल्याउने र त्यहाँबाट विराटनगरका अन्य पसलहरुमा सप्लाई गर्ने ।
विराटनगर महानगरपालिकासँग उद्योगी–व्यापारीले बजार चलायमान बनाउन सहयोग मागेपछि स्थानीय सरकारले सम्बन्धित सरोकारवाला पक्षसँग भन्सार कडाईका लागि आग्रह गरेको थियो । आग्रह अनुसार भन्सार कार्यालय विराटनगरले साउन १ गतेदेखि एकसय रुपिँया बढीको सामान खरिद गरेर आएमा अनिवार्य भन्सार बुझाउनु पर्ने नियम लगाएको छ । भन्सार बुझाउने मात्रै नभई भन्सार जाँचपासका लागि आवश्यक पर्ने कागजात पनि अनिवार्य गरेपछि खाद्यन्न तथा खाद्यवस्तु ल्याउन सहज देखिएको छैन ।

जोगबनी पुगेर कपडा वा जुत्ताचप्पल वा खाद्यन्न तथा खाद्यवस्तु बाहेकका सामान किनेर भन्सार बुझाएपछि ल्याउन सकिन्छ । तर, नियमानुसार भन्सानर अनिवार्य बुझाउनुपर्ने हुन्छ । तर, भन्सार बुझाउने भएपनि पशु क्वारेन्टाइन तथा खाद्य क्यारेन्टाइनको रिपोर्ट समेत संलग्न गराउनु पर्ने वस्तुहरु चिनी, चामल, चियापत्ती, कफी, दुध, जिरा, धनियाँ, बिस्कुट, भुजिया, दालमोट, तोरी तेल, काजु, किसमिस जस्ता सामान लिएर भन्सार कटाउँदा अनिवार्य थप कागजात समेत खोजिने गरेको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले जोगबनी गएर सामान खरिद गर्नेहरुले कागजात पूरा गरेपछि भन्सार महसुल बुझाउन सक्ने बताउनुभयो । उहाँले कसैले अर्को देशबाट खाद्यन्न तथा खाद्यवस्तु खरिद गरेर भित्र्याउँछ भने नियमानुसारको कागजात पूरा गरेपछि मात्रै भन्सार जाँचपास र महसुल असुली हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्