विराटनगर । विराटनगर महानगरपालीकाले आज साउन १ गते देखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाएसँगै पान व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नगर परिषदको निर्णय अनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएपछि विराटनगर क्षेत्र भित्र रहेका पान व्यावसायहरुले पसल बन्द गरेका हुन् ।
यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको महानगरले अब भने प्रयोगमै प्रतिबन्ध लगाउन थालेपछि विराटनगरको रामजानकी मन्दिरमा पान व्यवसाय संघ तदर्थ संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका हुन् ।
प्रधुन्न पाण्डेको अध्यक्षतामा गठित पान तदर्थ संघर्ष समितिले महानगरको निर्णय गलत भएको भन्दै महानगर अगाडी पुगेर केही बेर मेयर नागेश काईराला विरुद्ध नाराबाझी समेत गरेका थिए ।
उत्पादन गर्ने कारखानाहरुबाट मनग्ये कर लिने तर बजारमा भने प्रतिबन्ध लगाउने भन्दै उत्पादकहरुले विरोध गर्दै आएका छन् ।
‘गुट्खा, खैनी, चुरोट जस्ता सुर्तीजन्य वस्तुको उत्पादन पनि महानगरले रोक्छ ?’, पान व्यवसायीले भने ‘उत्पादन गर्न दिइरहने, उद्योगहरुबाट कर पनि उठाइरहने तर बजारमा भने प्रतिबन्ध लगाउने कुरा न्यायसंगत नभएको भन्दै आक्रोश पोखे ।
महानगरको यो निर्णय अरु अभियान जस्तो आलोचित भने भएको छैन । महानगरको यो अभियान सवलपक्ष भएको भन्दै पान गुड्का प्रयोग गर्नेहरुले नै स्वागतयोग्य रहेको बताएका छन् ।
नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएकाले अब महानगर पछि नहट्ने मेयर नागेश काईरालाको दाबी छ ।
यता आन्दोलनमा होमिएका पान व्यवसाय मेयर नागेश कोईराला विच केहीबेर छलफल समेत भएको थियो । पान व्यावसायहरुले भने जर्दा पान बेच्न पाईने भएपछि आन्दोलन रोकेर बन्द गरेका पसल पुन संचालन गरेका थिए ।