लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे ।

तर, कटहरी गाउँपालिकाले बुधबार नै बुध हटिया उठाई दियो । प्रहरी प्रशासनको सहयोगमा व्यापारीदेखि पासवान जसरी आफ्नै उत्पादन बिक्री गर्न आएकाहरुलाई हटियास्थलमा प्रवेश नै गर्न दिइएन । पासवानको खसी पनि बिकेन, उनी जस्तै अन्यले पनि खसी लिएर आए र लिएरै फर्के ।

आलु–प्याजको व्यापार गर्दै आएका घोघापुल विराटनगरका मो.नसिर कटहरी गाउँपालिकाको भवन अगाडी गरिखान दिनुपर्ने माग गर्दै थिए । हटिया भर्न पुगेका बेला प्रहरीले हस्तक्षेप गरेर २२ वर्ष अगाडीदेखि चल्दै आएको व्यापार बुधबार रोकिएको थियो । धिरज साह, विरेन्द्रकुमार साह, कौशिल्यादेवी मुखिया, रामकुमार साह यी सबै माछा, आलु–प्याज, तरकारी र बीउबिजन लिएर हटिया पुगेका थिए । उनीहरु सबै विराटनगरका व्यापारी हुन् ।

जहाँ–जहाँ हटिया लाग्छ उनीहरुले त्यहिं सामान लिएर पुग्छन् र बिक्री गर्दै आएका छन् । गाउँपालिकाले सिंघिया किनारसँग जोडिएको हटिया क्षेत्र खाली गराएर त्यहाँ बस स्टेशन बनाउने तयारी गरेको छ । त्यहाँको हटिया उठाएर कटहरी–१ स्थित फलफुल तथा तरकारी थोक बजार बजारमा सार्ने योजना राखिएको छ । तर, हटिया घुम्ने व्यापारीले भने आफ्ना लागि त्यो उपर्युक्त नहुने बताएका छन् ।
कटहरीमा सरकारी कोष खर्चेर ४५ हजार मेट्रिक टन तरकारी र आठ हजार मेट्रिक टन फलफूल राख्ने क्षमताको बजार निर्माण गरिएको छ । १७ करोडको लागतमा निर्माण भएको बजारमा बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टलका साथै अत्याधुनिक प्रशासनिक भवन समेत छ ।

यहि भवनमा सार्ने योजना गाउँपालिकाले राखेको थियो । तर, सधैं हटिया भरिरहेकाहरुले त्यो निर्णय अस्वीकार गरेपछि प्रहरी बल प्रयोग गर्नु परेको थियो । त्यस क्रममा झडप हुँदा ६ जनालाई पक्राउ समेत गरिएको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् । उनले भने–गाउँपालिकाले सार्ने निर्णय गरेको तर हटिया भर्ने व्यापारीले सर्न मन नगरेका कारण स्थिति तनावपूर्ण बन्दा केहि व्यक्ति नियन्त्रणमा लिनुपरेको थियो ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग आधिकारिक धारणा माग्न भने सकिएन । दुवैजना कार्यालय समेतमा कार्यकक्ष भन्दा बाहिर रहेको पाइयो भने अध्यक्षसँग फोनमा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । व्यापारीले भने अध्यक्षको घर नजिक हटिया सार्न खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्