विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र अक सुर्तीजन्य वस्तु रजनीगन्धा, गुट्का, जर्दा पान जस्ता वस्तु सार्वजानिक सडकमा खानेहरुलाई एक हजार रुपैँया जरिवाना लिइने भएको छ ।
महानगरपालिकाले यो ऐन कार्यन्वयनका लागि कार्यविधी निर्माण गरेको छ । बनेको कार्यविधीको ड्राफ्टलाई अन्तिम रुप दिने काम भईरहेको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाले नगर क्षेत्र भित्र यो बिक्री वितरण र प्रयोग पूर्ण रुपमा नियन्त्रण गरिने दावी गरेका छन् । उनले कार्यविधीको निर्माण भएकोले अब सार्वजानिक सडकमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुलाई समेत एक हजार जरिवाना भराईने छ ।
यसैगरी कुनैपनि पसलबाट प्याकेटमा भएको रजनीगन्धा, गुट्खा जस्ता वस्तु बिक्री गरेको पाइएमा ५० हजार रुपिँया जरिवाना भराउने तयारी गरिएको छ ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले कार्यविधी कार्यन्वयनमा आए लगतै विराटनगरका सबै पसलमा जुनसुकै बेला नियमन गरिने छ । यदि सुर्तीजन्य वस्तु फेला परेमा जफत गर्नुका साथै जरिवाना समेत भराईने छ ।