साउनको दोस्रो सोमबार आज बिहानैदेखि विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ।
प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।
यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ।