विराटनगर । विराटनगर महानगरपालिकाले डेढ किलोमिटर दुरीलाई प्रधानमन्त्री पार्कको रुपमा विकास गरिरहेको छ ।
विराटनगर–२ शनिहाटस्थित महेन्द्र रात्री मा.वि.उत्तरतर्फबाट–खद्रा पैनी–सिंघिया खोलातर्फ लगिएको ड्रेनसँग जोडिएको खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम भईरहेको हो।
यो जग्गा खद्रा पैनीकै हो । सरस्वती टोल क्षेत्र डुबाउँदा सिंघिया खोलासँगको सिधा कनेक्सन रहेको खद्रापैनी मासेर पार्क निर्माण गरिएको छ । पार्क निर्माणपछि विराटनगरमा धेरै फोहोर थुप्रने स्थान मानिएको यो सफा हुने अनुमान गरिएको छ।
यो पार्कको निर्माण खुम्बु निर्माण सेवा प्रा.लि.ले १५ करोड पाँच लाख ७३ हजार ५२७ रुपैयाँमा गरिरहेको छ । सम्झौतामा उल्लेखित रकम मूल्य अभिबृद्धि बाहेकको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको पार्कको काम एक वर्ष अगाडिदेखि सुरु भएको हो । एक वर्षको अवधिमा भौतिक प्रगति २५ प्रतिशत भएको छ भने भुक्तानी सम्झौता रकमको २० प्रतिशत भईसकेको छ ।
आयोजनाको साइड इन्जिनियर सुजन श्रेष्ठका अनुसार यो पार्क क्षेत्रमा थुप्रै प्रकारका संरचना निर्माण हुनेछन् । विराटनगरमा जन्मिएर देशको प्रधानमन्त्री भईसकेका पूर्वप्रधानमन्त्रीहरुको सालिक, सुटिङ मुभमेन्ट संरचना, ओपन एम्फिथिएटर लगायतका संरचना बन्ने भएका छन् । यो पार्कमा विराटनगरमा जन्मिएका पूर्व प्रधानमन्त्रीहरुको स्मारक, बाल उद्यान, क्यान्टिन, सार्वजनिक शौचालय, शिवालय मन्दिर, बाटो काट्ने पुल, बाउण्ड्री वाल र डेकोरेटिभ बाउन्ड्री वाल, जगिङ्ग ट्रेक निर्माण गरिने भएको छ ।