विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।
उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा दिएका हुन् ।
सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने नेता आङ्बोले जानकारी दिए ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।