विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनएिको शथप ग्रहण कार्यक्रमको समय सरेको छ ।
आज १०ः३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम बेलुका ५ बजे सरेको छ । मन्त्रालय टुंगो लगाउने विषयले शपथ ग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यसअघि बिना बिभागिय मन्त्री बनाउने गठबन्धनको निणर्य भएपनि आज मन्त्रालय नै टुंगो लगाउने भन्ने कराआएपछि समय सरेको उनले बताए । उनले भने,‘ गठबन्धनको बैठक बसेर फाइनल गर्छौ ।’
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद पुगेको हो । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मङ्गलवार नै पदबाट राजीनामा दिएका थिए ।
यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालते मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो ।