विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानी हत्या गर्ने २ जना पक्राउ

विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानी हत्या गर्ने २ जना पक्राउ

विराटनगर । सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीया अनसन तामाङ्गलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो । उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका मध्ये दिपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाईके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोवाइल र लेडिज झोला लुेटका थिए । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेको संघिय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘रोहित र किशोरी सेउति पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगल भागेको देखिएको छ ।’
रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले सबै कोणबाट सुष्म तरिकाले अनुसन्धान गरेका थियौ,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाटनै रहेको देखियो ।’

लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एक जना फरार रहेको डिआइजी बास्तोलाले बताए ।

पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् । पक्राउ परेका दिपक जवरजस्ती करणी मुद्दमा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ्ग लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका अभियुक्त हुन् ।

उनीहरुले यसअघि पनि विभन्नि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्