विराटनगरमा तनस्का फेसन शो रनवे: जहाँ मोडलदेखि सेलिब्रेटीसम्मले गरे ‘क्याटवाक’

विराटनगरमा तनस्का फेसन शो रनवे: जहाँ मोडलदेखि सेलिब्रेटीसम्मले गरे ‘क्याटवाक’

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्याम्पमा उत्रिएका हुन् ।

फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी र्याम्पमा उत्रिए । उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि र्याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढ्यो । विराटनगरको कञ्चनजंघा व्याङ्केटमा भएको फेसन शो मा खचाखच दर्शक थिए । कार्यक्रममा गायिका सत्यकला राई र र्यापर शैलेश निरौलाको सांगीतिक प्रस्तुतीले पनि कार्यक्रममा रौनकता बढायो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् । फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्न विराटनगर महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने उनले धारणा राखिन् । नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगरको फेसन डिजाइन क्षेत्रमा तनस्काले नयाँ आयाम थपेको प्रतिक्रिया दिए । कार्यक्रममा तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फेसन शो गरिएको जानकारी दिइन् ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो पनि हो । सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् ।

सीटीईभीटीबाट मान्यता प्राप्त सो कलेजले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्