महंगियो मसला, भान्साका परिकारमा छैन बास्ना

<span class='c1'>महंगियो मसला, भान्साका</span> <span class='c2'>परिकारमा छैन बास्ना</span>

विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो ।

मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमिता राईको भनाई छ । उनि भन्छिन्, स्वादिस्ट तरकारी बनाउन सबै प्रकारको मसला चाहिन्छ । मसला लिन त जान्छु दाम सुनेर हातमा टिपेको मसला पसलमै छोडेर फर्कन्छु । राईले पछिल्लो समय मसला किनिनसक्नु महंगो भएको सुनाउँदै भनिन्–‘बानि परेको जिब्रोको स्वाद मसला बिनाको खाना भनेपछि नखानु झैं हुने ।’

मसला प्रयोग गर्ने बानी भएपछि जसरी भएपनि त्यसको उपलब्धता भान्सामा हुनुपर्छ । विगत ५ वर्ष देखि विराटनगर बस्दै आएकी रुस्मा तिम्सिना घरबाट मसला मगाउँछिन् । कारण, मसला किनेर मात्रै भएन, त्यसलाई धोई पखाली गर्नु परो, पिसाएर मसिनो बनाउनु परो । यहाँ सबै कुरा नमिल्ने भएपछि तिम्सिनाले घरबाटै मसला तयारी बनाएर ल्याउने गरेकी हुन् । स्वादमा बानी परेपछि जसरी भएपनि जोहो गरेर प्रयोग गरिरहेको उनले बताइन् ।

पढाईका लागि विराटनगर बस्दै आएका युवराज साह चियाका पारखी हुन् । उनलाई चियापती धेरै हालेर पकाएको चिया पीउने बानी छ । तर, चियापत्तिको मूल्यसँगै चिया मसलाको मूल्य पनि महंगो भएपछि स्वाद लिएर धित मार्न नपाएको सुनाउँछन् । घर बाहिर हुँदा कठिन छ, साह भन्छन्–चिया, मसला भन्दाभन्दै गोजीको पैसा सकिन्छ, त्यहि भएर आजकल कम गर्दै गएको छु ।

उपभोक्ताले स्थानीय बजारमा मसला किन्न नसक्ने गरि महंगो भएको बताईरहेका छन् । तर, व्यापारी भने उपभोक्ताले जोगबनी गएर मसला ल्याउने गरेको दावी गर्दछन् । विराटनगर–११ स्थित न्यू केशव किराना पसलका सञ्चालक सन्तोष लिम्बुले विराटनगरका उपभोक्ता मसला किन्न पनि जोगबनी पुग्ने गरेको दावी गर्दछन् । उनले महंगो भएपछि अलिअलि बिक्री हुने गरेको मसला समेत अहिले माग घटेको बताए । विरानगर भन्दा जोगबनीमा सस्तो पाइन्छ भनेर उतै जाने गरेको उनको तर्कछ ।

स्थानीय बजारमा अहिले चिनी ९० रुपिँया प्रतिकेजी, चियापत्ति एकहजार, कफी (धुलो) तीन हजार ६००, जिरा ५५०, धनियाँ २७५ रुपिँया रहेको छ । कुनै कारण जोगबनी पुगिहाले क्रमशः चिनी ६०, चियापत्ति ६४०, कफी दुई हजार ६००, जिरा ४५०, धनियाँ १५० मा पाइन्छ । यस बाहेक मरिच, सुकमेल जस्ता चिया मसला समेत जोगबनीमा सस्तो पाइने गरेको छ । पछिल्लो समय सीमानाकामा केहि कडाई गरिएपछि स्थानीय बजारमा त्यसको असर सकारात्मक देखिनु पर्ने भएपनि बरु उपभोक्ताले नखाने झैं गरेर खरिद गरिरहेका छैनन् । खुल्ला सीमा रहेको नेपाल–भारतको सीमा वारपार बजारको मूल्यान्तर घटाउन राज्यले नीतिगत सुधार गर्नुपर्ने व्यापारीहरुको बुझाई छ ।

विराट व्यापार संघका अध्यक्ष नरेश खत्री सीमामा कडाई गरेर स्थानीय बजार लाभान्वित हुननसक्ने बताउँछन् । उनका अनुसार नीतिगत रुपमा सुधार खोजिरहेको स्थानीय बजारले सीमा क्षेत्रमा चलाएको डण्डा देखावटी मात्रै जस्तो महसुश गरेको बताउँछन् । अध्यक्ष खत्रीले सीमा क्षेत्रमा कडाईसँगै भन्सार महसुल तथा करका दरमा अत्यावश्यक वस्तुलाई मूल्य समायोजन गर्ने नीति सरकारले लिनुपर्ने बताउँछन् । जस्तै दैनिक उपभोग्य वस्तुमा नेपाली ग्राहक भारतीय बजारसँग आकर्षित छन् भन्ने कुरा राज्यको सूचनामा भएपछि त्यहाँ गएर खरिद गर्ने वस्तुको भन्सार दर घटाउनु पर्ने सुझाव खत्रीको छ । नेपाली ग्राहक बनेर भारतीय बजारमा पुगेर खरिद गर्ने अत्यावश्यक वस्तुको भन्सार दर कम गर्ने हो भने पनि स्थानीय बजार लाभान्वित हुने खत्रीको बुझाई छ । आन्तरिक उत्पादन नहुँदा आयात गर्नुपर्ने वस्तु भन्सार महसुल, मूल्य अभिबृद्धि कर, ढुवानीलगायतले स्थानीय बजारमा महंगो हुनु स्वभाविक हो, तर यी वस्तुको मूल्य समायोजन गर्नका लागि राज्यले करका दर निर्धारणमा ध्यान दिए वैधानिक बाटोबाट आउने थियो ।

वैधानिक बाटोबाट आउने यस्ता वस्तुले मूल्य प्रतिस्पर्धा गर्नसक्ने अवस्था सिर्जना गर्न नसक्दासम्म स्थानीय बजार लाभान्वित वा चलायमान हुनेमा शंका नै रहेको देखिन्छ ।
                                                                                                                                (इन्दु साह–प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्