डुबान हेर्न बत्ति जोड्छ विराटनगर, टावरे विकास झैं भईराछ रोडमा लाइट

डुबान हेर्न बत्ति जोड्छ विराटनगर, टावरे विकास झैं भईराछ रोडमा लाइट

सुजता लिम्बु
विराटनगर । जब आकाश मडारीएर कालोमैलो हुन्छ, तब विराटनगरबासी डुबानको चिन्ताले पिरोलिन्छन् । दशकौँदेखि वर्षात्मा डुबानको खाल्डोबाट उम्किन नसकेको विराटनगर अहिले पनि केही समय निरन्तर वर्षा हुँदा जलमग्न हुन्छ । जनजीवन आक्रान्त बनाउँछ । राहत र उद्धार नामका प्रशस्त काम हुन्छन् । खर्च वर्षेनी बढाउँछ ।

त्यसो त विराटनगर कोशी प्रदेशको राजधानी समेत हो । विकास र समृद्धिका खाका कोरेर जनता माझ चुनावी एजेण्डाबाट निर्वाचित प्रदेशभरका सांसदहरुको पनि आउनेजाने थलो यही नै हो । संघ, प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष जमकाभेट हुने केन्द्र, विराटनगर डुबानको दुःखबाट उम्किन सकेको छैन ।

विराटनगर देशको शिर्ष नेतृत्व जन्माएको र सफलताको पहिलो खुड्किलो उम्कने भ¥याङ्ग भन्दा फरक पर्दैन । त्यसमा पनि गिरिजाप्रसाद कोइराला, विपि कोइराला हुँदै सुजाता कोइराला, डा शेखर कोइरालाको राजनीतिक थलो रहेको विराटनगरमा डुबानको समस्या ज्यूँ का त्यूँ छ भन्न पनि लाज–लाज लाग्ने गर्दछ ।
जनप्रतिनिधिले प्रमुख समस्यालाई नबुझ्नु र बजेट अनावश्यक तथा देखासिकी गर्ने होडमा दिनु यसको मूख्य कारण रहेको नागरिकहरुको बझुाई छ । लहडको बजेट प्रयोगले छेकेको वास्तविक विकासलाई नागरिकसँग जोड्न समस्या भईरहेको छ ।
विराटनगरमा भ्यु–टावर बनाउने होडबाजी झैँ अहिले सडकलाई सेल्फी बनाउन लाइट जोड्ने होड खुब चलेको छ । दोबाटोमा विद्युत जडानमा बजेट खर्चिनु भन्दा डुबान हुने क्षेत्रमा एउटा निकास खोलिदिनु आहातमा पर्ने नागरिकका लागि ठूलो राहत हुने स्थानीय अर्जुन साह बताउँछन् ।

विराटनगर महानगरपालिका यतिबेला यस क्षेत्रको प्रमुख समस्यालाई पाखा लगाउँदै सडक छेउछाउ ब्यूटिफिकेसनको नाममा विद्यतु जडान गर्ने र टिकटक रोडमा परिणत गर्ने काममा प्रतिस्प्रर्धा चलेको छ । विराटनगर १६ का रोसन कुमार मण्डल आफू बसेको क्षेत्र डुबान क्षेत्र रहेको भएपनि महानगरपालिकाले बजेट नदिने तर शहरका सडकमा जताततै बत्ति जडान गरेको देख्दा दुःख लाग्ने गरेको बताउँछन् । डुबान क्षेत्रको समस्या वर्षेनी जनप्रतिनिधिको भोट माग्ने एजेण्डा रहेको बताउदै उनले यस्तो खालको समस्याबाट कसरी जनतालाई निकास दिने भन्ने विषयमा चासो कम हुने गुनासो गर्दछन् ।

‘जनप्रतिनिधिले विकास र समृद्धिको नाममा व्युटीफिकेसनलाई लिएको छ, यो बजेटको दुरुपयोग हो’ उनले भने–पहिले आवश्यकतालाई प्राथमिकीरण गर्नुपर्ने थियो, त्यो नहुँदा कतै जुन शिर्षकमा पनि बजेट, कतै आवश्यकमा पनि निस्तेज भएको छ । उनले भने,‘ विराटनगरको दक्षिणी भेग विकासले अझै पनि गति लिएको छैन तर हाम्रो जनप्रतिनिधिहरु बाटोमा विद्युत जडान गर्नुलाई विकास र समृद्धि सम्झनुहुन्छ ।’
विराटनगर महानगरपालिकाको वडा नम्बर १०, ११, ३, ४, ६, ९ मा सडकलाई सेल्फी बनाउने भन्दै बत्ति जडान गरिएको छ । आवश्यक भएपनि ढाँचामा भने कहिं न कहिं दुरुपयोग गर्ने मनसाय राखिएको छ । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले तीन तहका सरकारबीचको समन्वय अभाव देखि समस्याको प्राथमिकीकरण गर्ने कुरामा चुक्दा बजेटको दुरुपयोग बढ्दै गएको बताएँछन् । संघ अन्तर्गतका कार्यालयसँग विकासका कुरा गर्दा प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई देखाउने र स्थानीयले प्रदेश र संघको भर गरेजस्तो गर्ने अवस्था रहेको उनको बुझाई छ । उनले तीन तहका सरकारका योजना एउटै सुत्रमा बाँध्नुपर्ने बताए । उनले समस्या सामान्य भएपनि वर्षेनी यसको प्रभावित संख्या बढ्दै गएकोले योजना आवश्यक रहेको बताए ।

स्थानीय, प्रदेश वा संघको पहिलो कार्यकाल भ्यू–टावरमुखी लगानी गर्ने विकासमा प्रेरित देखिएको थियो । दोस्रो कार्यकालमा कतिपय शहरले सडकमा बत्ति झिलिझिलि बनाएर विकास देखाउँन खोजिरहेका छन् । तर, जे गरेपनि अनावश्यक रुपमा जोड दिएर बजेट खर्च गर्नु बजेटको दुरुपयोग नै हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्