विराटनगरको दक्षिणी क्षेत्र : विकास बजेटमा हेपिने गरेको वडाअध्यक्षको गुनासो

विराटनगरको दक्षिणी क्षेत्र : विकास बजेटमा हेपिने गरेको वडाअध्यक्षको गुनासो

विराटनगर । पछिल्लो समय विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको दावी गर्दै आएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको गुनासो सम्बोधन गर्न महानगरपालिकाले केहि ठूला योजना दक्षिणी क्षेत्रमा पनि बढाउँन थालेको दृष्टान्त विराटनगर–१४ मा ५ करोडभन्दा बढीको लागतमा रानीपोखरी ग्रिनपार्कको निर्माण थालिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि ग्रिनपार्कको निर्माण सुरु गरिएको हो ।

तर, केहि योजना अगाडी बढेपनि विराटनगरको दक्षिणी बेल्ट विकासमा सधैं पछि पर्दे आएको छ । दक्षिणी बेल्टबाट विराटनगर महानगरपालिकामा प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरु भने अहिले पनि बजेटसँग सन्तुष्ट छैनन् । विकासका लागि सधैं बजेटको अभाव हुने गरेको गुनासो गर्ने वडा अध्यक्षहरुले वडागत योजना बाहेक महानगरस्तरका योजनामा दक्षिणी क्षेत्र नछानिने बताएका हुन् ।

विराटनगरको दक्षिणी क्षेत्रमा १४, १५, १६, १७ र १८ नम्बर वडा पर्दछन् । विराटनगर रोडशेष भन्दा तलका यी वडाको समग्र विकास अवस्था अहिले पनि दयनिय रहेको छ । निर्वाचनको समयमा महानगरपालिका मेयर र उपमेयरले दक्षिणी क्षेत्रलाई विकासमा प्राथमिकतामा राख्ने योजना ल्याउने आश्वासन बाँड्ने गरेका थिए । तर, यो आश्वासन पाए जस्तो विकास नागरिकले पाउन सकेका छैनन् ।
विकासको दक्षिणी क्षेत्रका वडामा सबैभन्दा ठूलो समस्या डुबानको छ । ढल निकास नहुँदा वर्षेनी यहाँका बासिन्दा वर्षात्मा डुबानमा पर्ने गरेका छन् । यी तमाम विषयमा महानगरपालिकाको मुख्य नेतृत्वसँग वडा अध्यक्षहरुले छलफल गर्ने गरेको भएपनि चासो कम हुने गरेको गुनासो गरेका छन् ।

विराटनगर १४ का वडा अध्यक्ष सुर्यनारायण महतोले उत्तरतर्फका वडा भन्दा दक्षिणका वडामा कम बजेट आउने गरेको स्वीकार गरे । पूर्वाधार विकासमा पछाडी रहेपनि आवश्यकता हेरेर बजेट वितरण नहुने गरेको वडा अध्यक्ष महतोको गुनासो छ । उनले महानगरपालिकाबाट मात्रै नभई प्रदेश र संघीय सरकारसम्वद्ध कार्यालयसँग समेत बजेटका लागि निवेदन दिने गरेको बताए । तर, आफ्नो मागको सम्बोधन नहुँदा नागरिकको आवश्यकता अनुसारको संरचना निर्माण गर्न नसकेको अध्यक्ष महतो बताउँछन् ।

वडा अध्यक्ष महतोका अनुसार तीन विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले विद्यालय जाँदा आउँदा जुत्ता लगाउन नपाउने गुनासो गर्दछन् । सडक राम्रो नहुनु र पानीको निकास नहुँदा डुबानका कारण साना बालबालिका वर्षेनी समस्यामा पर्दै आएका हुन् । महानगरपालिका भित्रको दोस्रो ठूलो वडा भएपनि विकासका हिसाबले कमजोर हुँदा नागरिकको गुनासो बढ्दै गएको उनले बताए । वडागत रुपमा आउने बजेटको ग्राफ २ करोड पेरिफेरी रहेको छ । स्थानीय तहको पहिलो कार्यकालमा २ करोड २५ लाखका दरले आएको थियो । बजेटको आकार क्रमशः घट्दो क्रममा रहँदा आवश्यकता भने बढ्दो रहेको उनले बताए ।

वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साहले बजेट वितरणको मापदण्ड कार्यन्वयनमा समस्या रहेको बताए । उनले जनसंख्या, क्षेत्रफल, राजस्व संकलन लगायतका आधारमा बजेट बाँडफाँड हुने गरेको बताए । त्यसका आधारमा वडा नम्बर १५ ले पाउनु पर्ने बजेट नपाएको उनको गुनासो छ । ठूलो योजनाबाट निर्माण गर्नुपर्ने चारवटा सडक भएपनि वडागत बजेटको मात्रै भरले काम गर्न नसक्ने अवस्था रहेको साहको गुनासो छ । उनले विकास हुन बाँकी रहेका वडामा महानगरपालिकाले प्राथमिकताका आधारमा बजेट दिनुपर्ने माग बोर्ड बैठकमा गर्ने गरेपनि सुनुवाई नहुने गरेको बताए ।

वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव भुजेलले वडामा आउने बजेटले ठूला काम गर्न नसक्ने बताए । उनले स्वास्थ्य, शिक्षाको क्षेत्र सुधार गर्ने भन्दा बाहेक बाँकी काम वडागत सिलिङबाट प्राप्त बजेटले गर्न नसकिने बताए । तर, आवश्यकता धेरै रहेपछि त्यसको पूर्तिका लागि स्थानीय सरकारले उपल्लो सरकारमार्फत योजना भित्र्याउनु पर्नेमा जोड दिए । उनले सीमासँग जोडिएको क्षेत्रमा विकास निर्माणका काम गर्नका लागि ठूलो बजेट आवश्यक रहेको बताए । यद्यपी महानगरपालिकाको सिंगो कोसबाट समान रुपमा नै वितरण भई आएको बजेटले आवश्यकता पूरा गर्न नसकेको उनको बुझाई छ ।

विराटनगर १७का अध्यक्ष समिम कमरले नागरिकले विकास खोजे अनुसारको बजेट नहुँदा वडाअध्यक्षले कार्यालयबाट भाग्नुपर्ने अवस्था आएको बताए । उनले पहिलो कार्यकालमा महानगरपालिकास्तरीय तीन योजनाले यस वडालाई केहि राहत पुगेको बताए । तर, वडागत रुपमा एक करोड ५० लाख रुपिँया मात्रै बजेट पठाइएको थियो । अहिले वडागत रुपमा दुई करोड रुपैँया बजेट आउने गरेको कमरले जानकारी दिएका छन् । उनले अहिले नभई पहिल्यैदेखि विभेदमा परेको दक्षिणी क्षेत्र उठ्न अझै २० वर्ष लाग्ने बताए ।
स्वतन्त्र अध्यक्षको झन् पीडा
स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित विराटनगर–१८ का वडा अध्यक्ष जितेन्द्रकुमार साहले महानगरपालिकाको बजेट बच्चालाई चकलेट दिए जस्तो मात्रै हुने गरेको प्रतिक्रिया दिएका छन् । उनले स्वतन्त्रपूर्वक उमेदवार भएर निर्वाचित वडा अध्यक्षलाई झन् हेपेर कम बजेट दिने मात्रै नभई कार्यालयमा रहेका कर्मचारी समेतले हेप्ने गरेको गुनासो गरे । दलमा विभाजित कर्मचारीले कसरी अंकुश लगाउने भन्ने मात्रै सोचिरहेका हुन्छन् अध्यक्ष साहले भने–नागरिक सेवा लिन आउँदा टसमस नगरी बस्ने मात्रै गर्दा रहेछन् । साहले आफू स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका कारण कामै गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे । बजेटमा विभेद, कार्यालयमा अलिक राम्रो कर्मचारी पठाउने विषयमा वेवास्ता, पठाएका पनि पार्टीको हितमा काम गर्ने किसिमका मात्रै हुने गरेको उनको गुनासो छ ।

(इन्दु साह, प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्