विराटनगर । धरानमा डेंगुले प्रकोपको रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ।
विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो ।
उक्त डेंगु उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे । धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुईमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थामा प्रदेश सरकारले २५ शैय्याको जेनरल बेड संक्रमितको उपचारको लागि ल्याएको मुख्यमन्त्री थापाले बताए । ‘डेंगु संक्रमितले भुईमा सुतेर उपचार गरिनुपर्ने अवस्थामा अब अन्त्य हुनेछ,’ मुख्यमन्त्री थापाले भने, ‘प्रदेश मातहतको अस्पतालमा अब निःशुल्क डेंगुको उपचार सुरू भएको छ ।’ मुख्यमन्त्री थापाले मन्त्रीपरिषदको बैठक बसेर धरानमा एक सय थान स्प्रे मेसिन पनि वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशी स्वास्थ्य मन्त्री निर्मला सुब्बाले प्रकोपको रुपमा फैलिएको डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागि परेको बताए । ‘यसअघि निःशुल्क किट वितरण गरेर प्रकोपको रुपमा फैलिएको धरानमा डेंगु परीक्षण हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले डेंगु संक्रमित विरामीको उपचारको लागि २५ शैय्याको उपचार केन्द्र संचालनमा ल्याएका छौं । विरामीको संख्या अनुसार बेड थप हुँदै जानेछ ।’
डेंगु रोक उपचार व्यवस्थापनको लागि संयोजक भरत साहलाई जिम्मेवारी दिएको छ । संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा. सुधा देवकोटाले जानकारी दिइन् । ‘दरबन्धी स्वीकृत भएर आउने क्रममा रहेको उनले बताइन् । ‘अहिले भएको जनशक्तिबाट डेंगो संक्रमित विरामीको उपचार हुनेछ,’ उनले भनिन्, ‘दरबन्धी थप भएर आएपछि उपचारमा सहज हुनेछ ।’
कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजार भन्दा बढीमा डेंगु संक्रमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित रहेका छन् ।