विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाअध्यक्ष हिरालाल कामत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले उनी विरुद्ध लेनदेन मुद्दामा दोषि ठहर गर्दै १२ लाख बिगो भराउन आदेश गरेको थियो । प्रतिवादी मन्टु कुमार राम मोचीलाई भराउनु पर्ने बिगो रकम दाखिला नगरेपछि उनी विरुद्ध एक वर्ष कैद सजायको फैसला भएर पक्राउ पुर्जी जारी गरिएको हो ।
एक वर्ष कैदमा राख्न पक्राउ गरि अदालतमा दाखिला गर्न मोरङ प्रहरीलाई सोमबार अदालतले आदेश दिएको छ । त्यसका आधारमा पक्राउ पूर्जी समेत जारी गरेर पठाइएको जिल्ला अदालत मोरङका तहसिलदार हरीप्रसाद गुरागाईले जानकारी दिए ।
तहसिलदार गुरागाईले भने वादीको हुने विगो रकम दाखिला नगरेपछि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम एक वर्ष कैदमा राख्न पक्राउ गरि अदलतमा दाखिला गर्न पत्राचार भएको छ, । कामतले विराटनगर–१२ का मन्टुकुमार राम मोचीसँग नगद १० लाख सापटी लिएर नतिरेको भन्दै २०७८ फागुन २५ गते उनी विरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको थियो । अदालतले लेनदेन मुद्दाको फैसला गर्दै साँवा र ब्याज गरि १२ लाख भुक्तानी गर्नुपर्ने आदेश गरेको थियो । उक्त आदेश अनुसार बिगो भराउन नगएपछि सरकारी सिधा जम्मा हुने गरि एकवर्ष कैद फैसला भएको हो ।
वडाध्यक्ष कामतले आफन्तका लागि आफ्नो नाममा पैसा लिएको जानकारी दिए । उनका अनुसार पाँचलाख रुपैयाँ मात्रै लिएपनि कागज भने दशलाख रुपैँयाको गर्नुपर्ने शर्त राखेको बताए । अध्यक्ष कामतका अनुसार आफन्तमा बिरामी परेर पैसा आपत परेपछि ऋण लिई दिइएको थियो । आफन्त बिरामी लिएर भारत गएपछि छ महिनासम्म आएनन् । एक महिनाको मात्रै म्याद राखेर लेनदेन गरिएको कारोबार फिर्ता गर्न असजिलो परेपछि अदालतमा मुद्दा परेको कामत बताउँछन् । तिर्नैपर्ने ऋण भएपछि मुद्दामा चासो राखिन, अहिले पैसा तिर्ने तयारी गरिरहेको छु । पैसा बुझाउन अदालतले पठाएको आफ्नो नामका पत्र अरु कसैले बुझेर लुकाई दिएको कामतको गुनासो छ । ‘मैले थाहा पाएको भए पैसा जम्मा गर्थे तर कसले पत्र बुभेर मलाई झुक्याउँदा अहिले असजिलोमा छु’ उनले भने–जसका लागि ऋण लिई दिएको थिएँ, उनैले मन्टुलाई चारपाँच दिनमा फिर्ता दिन्छु भनिसकेका थिए ।
मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले अदालतको पत्र अनुसारको कारवाही प्रक्रिया प्रहरीले सुरु गर्ने बताए । उनले सोमबार अदालतले पक्राउ पूर्जी जारी गरिसकेपछि प्रहरीले आफ्नो काम अगाडी बढाउनुपर्ने बाध्यता रहेको बताए । वडाध्यक्ष कामत जनता समाजवादी पार्टीबाट उमेदवार भएर वडा नम्बर १२ मा दोस्रो पटक निर्वाचित वडाअध्यक्ष हुन् । उनले लेनदेन मुद्दाको बिगो बराबरको १२ लाख रुपैँया बुझाएमा कैद सजाय भने हुने छैन ।