विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगर । विराटनगरमा सञ्चालित बैंकहरुले सेवाग्राहीका लागि आफैं पार्किङ व्यवस्थापन मिलाउने भएका छन् । ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले पार्किङ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा उनीहरुले पार्किङस्थलको व्यवस्थापन गर्ने बताएका हुन् । विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए ।

एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहनुभएका नेपाल बैंकर्स एसोसिएन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिएका थिए । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैंकहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने उनले बताए । अबदेखि बैंकको कार्यालय सर्दा पार्किङस्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने नियम बनाउने बताएका छन् ।

त्यस्तै हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरुले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको बताएका छन् । बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरुले भाडामा लिएर भए पनि पार्किङस्थल बनाउन सक्ने उल्लेख उनको भनाई छ ।
छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

महानगरले यसअघि पनि छलफल राखेको थियो । बैंकमा आउने सेवाग्राहीका सवारीका लागि पार्किङको व्यवस्थापन गर्न बैंकहरुलाई महानगरले पत्रचारसमेत गरेको थियो ।
बैंकहरुले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुंगो लगाउने छलफलमा सहमति भएको थियो । मेयर कोइरालाले विराटनगर महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको भन्दै बैंकहरुलाई आफ्नो पार्किङस्थल तयार पार्न बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्