घटना–१
गत भदौ ३ गते विराटनगर ६ बाट मोटरसाइकल हरायो । आफ्नै घर अगाडी पार्किङ गरेर राखिएको मो. मसुद आलमको मोटर साइकल हाराएपछि उनले प्रहरी समक्ष निवेदन दिएका थिए । तर, अहिलेसम्म हराएको उनको मोटरसाइकल फेला परेको छैन ।
घटना २
कटहरीका दिनेश माझीमाथि पेस्तोल देखाएर लुटपाट गरियो । उनी र उनको श्रीमती झापा बेलडाँगीबाट फर्कदै गर्दा केही अज्ञात समूहले पेस्तोल देखाएर लुटपाट गरेका थिए । लुटपाट गरेर फरार रहेका अज्ञात समूहलाई पक्राउ गरी कार्वाहीको माग राख्दै पीडितले प्रहरी समक्ष निवेदन दिएका छन् ।
माथि उल्लेखित घटना त प्रतिनिधि मात्रै हुन् । यस्तो घटना विराटनगरमा दैनिक जस्तो हुने गरेको छ । पछिल्लो समय मोरङमा चोरीका घटना बढ्दै जान थालेको छ । रातको समय घरमा राखिएको साथै पार्किङ गरेर राखिएको मोटरसाइकलदेखि लिएर दिनडाहडै लुटपाट, चोरी हुने गरेको पाइएको छ ।
भदौको पहिलो हप्ता नै दैनिक जस्तो मोटरसाइकल पार्किङ गरिएको स्थानबाट हराएको नागरिकहरुको गुनासो छ ।
दैनिकी जसो मोरङबाट ठुलो संख्यामा चोरीमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनका अनुसार खुल्ला सिमा भएका कारण चोरी गरेर भारत जान सहज हुने हुँदा उसले सजिलैसँग प्रमाण नष्ट गर्ने हुँदा प्रहरीको मुख्य चुनौती रहेको छ ।
विभिन्न घटना मध्ये चोरी घटनामा संग्लन ६० प्रतिशतभन्दाबढी व्यक्ति हिरासतमा रहेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागूऔषध प्रयोगकर्ता चोरीमा संग्लन भएको हुँदा यस्ता किसिमको घटना बढेको प्रवक्ता दाहालको भनाई छ । चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा योजनामा कार्य भईरहेको र केही समयपछि योजना सार्वजनिक गर्ने प्रवक्ता दाहालले बताए ।