विराटनगरको माछापुच्छ्रे सहकारीमा ९ करोड भन्दाबढी संचालकबाट हिनामिना

विराटनगरको माछापुच्छ्रे सहकारीमा ९ करोड भन्दाबढी संचालकबाट हिनामिना

प्रेम देवान
विराटनगर । एकपछि अर्को संहकारी डुब्दै गएका समाचारहरुका हेडलाईन बनिरहदाँ पुन: विराटनगरमा अर्को सहकारीको लफडा बाहिरीएको छ ।
विराटनगर– ७ धरान रोडमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले बचतकर्ताको ९ करोड भन्दा बढी रकम हिनामिना गरेको भेटिएको छ ।
सहकारीका अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना संचालकले ९ करोडभन्दा बढी रकम हिनामिना गरेको पुष्टि भएको छ । सहकारीको अनियमितता छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा हिनामिना भएको भेटिएको हो ।
प्रतिवेदन अुनसार सहकारीका अध्यक्ष कर्णसहित चार जना संचालकहरुले पाँच सयभन्दा बढी बचतकर्ताको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्यीय समितिले तयार पारेको छानबिन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ ।
कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्कीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको धेरै रकम हिनामिना गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्व सभापति समेत हुन् ।
यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा बिवेकशील साँझा पार्टीका नेता हुन् । उनले स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी दिएका थिए ।

त्यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्ताभित्रमा सहकारीको हिसाब छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।
जिल्ला सहकारी संघ सदस्य गुरुङको संयोजत्वमा गठित समितिमा राष्ट्रिय सहकारी बैंक लि. विराटनगर प्रमुख प्रभु पोखरेल, माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुङगेल र सहकारीका सदस्य श्यामराज कोइराला सदस्य थिए । समितिले छानबिन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई प्रतिवेदन बुझाएका थिए ।

छानबिन प्रतिवेदनले हिनामिना गरेको देखाएपछि सात दिनभित्रमा हिसाब फरफारक गरी उक्त प्रतिवेदन कार्यन्वयन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता वितिसक्दा संचालकहरु कार्यलय बन्द गरेर सम्र्पक विहीन भएका छन् ।
सहकारीको रकम हिनामिना गर्ने संचालकहरुले सहकारीको नियम, मूल्य मान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरुले आफन्त र नातागोताका व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोडभन्दा बढी रकम धितो नराखी ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाव दिएको छ ।

यता प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हिनामिना गरेका संचालकहरुले तिर्नुपर्ने रकम तिर्न दिएको तीन महिनाको अवधि पनि पुरा भएकोले अब थप कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्