विराटनगर । दशवर्ष अगाडी विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउने योजना सारेको थियो । छैटौं साधारणसभाले अरनिको नगर बसाउने उद्देश्यसहित बिनियम संशोधनका लागि डिभिजन सहकारीमा पठाएको थियो । तर, त्यो सिफारिसलाई डिभिजन सहकारीले संघीय सरकारमा पठाएपनि अस्वीकृत भयो ।
त्यसपछि सहकारीले नै बस्ती बसाउने योजनामा ब्रेक लाग्यो । तर, योजनालाई त्यसै मर्न नदिने निष्कर्षमा सहकारी सञ्चालक थिए । १२ औं साधारणसभामा त्यहि विषयले प्रवेश पायो । त्यसलाई मूर्त रुप दिनका लागि यसमा सरोकार राख्ने हरिभक्त सिटौलालाई अगाडी सारियो । जसमा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सञ्चालकको सहयोग थियो । त्यसका लागि समाजसेवी एवं विराटनगरका अग्रज सिटौलाको व्यक्तिगत बैंक खाताबाट कारोबार गर्ने गरि एक–एक कठ्ठाका दरले पुग्नेगरि जग्गा खरिद गर्ने निर्णय भयो ।
जसका आधारमा विराटनगर–१९ स्थित खोरिया क्षेत्रमा जग्गा खरिद गरिएको थियो । अहिले उक्त जग्गालाई अरनिको नगर कोलोनीको रुपमा विकास गर्ने योजना राखिएको छ । जसको छाताको रुपमा अरनिको सामुदायिक सेवा समाज समेत गठन गरिएको छ ।
आफ्ना शेयर सदस्यका लागि एउटै थलोमा कोलोनी बनाउने उद्देश्यले ६ बिघा १७ कठ्ठा १६ धर जग्गा खरिद गरिएको छ । जसमध्ये संस्थाको नाममा दश कठ्ठा राखेर बाँकी जग्गा १०४ परिवारका लागि व्यक्तिगत रुपमा वितरण गरिएको छ । शेयर सदस्यहरुलाई घर निर्माण गर्ने गरि उपलब्ध गराइएको उक्त जग्गाको धनीपूर्जा आइतबार विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरेर वितरण गरिएको हो ।
कोलोनीका अगुवा सिटौलाले अहिले उक्त क्षेत्रमा माटो पुर्ने, कम्पाउण्डवाल बनाउने, सडक नाला निर्माणको काम भईरहेको जानकारी दिए । जग्गाधनीहरुलाई एक कठ्ठामा नघट्ने गरि लालपूर्जा पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वितरण गरेका हुन् । उक्त जग्गामा मोडलको रुपमा घरहरु निर्माण गरेर आफ्ना शेयर सदस्यहरुको कोलोनीमा विकास गर्ने योजना राखिएको दावी छ ।
सिटौलाले विराटनगरको विकट स्थानमा बस्ती विकास गर्दा शहरको क्षेत्र समानरुपमा विस्तार हुने धारणा राखेका छन् । उनले अरनिको सहकारीका सदस्यहरुलाई एकै थलोमा समेट्ने मनसाय राखेर अगाडी सारिएको योजनालाई सार्थकता दिने दावी गरेका छन् ।