विराटनगरमा खुल्ला रुपमा माछा–मासु बिक्री, टेर्दैनन व्यापारी महानगरलाई

विराटनगरमा खुल्ला रुपमा माछा–मासु बिक्री, टेर्दैनन व्यापारी महानगरलाई

प्रेम देवान
विराटनगर । नगरक्षेत्रको विभिन्न स्थानहरुमा खुल्ला रुपमा विक्री वितरण गरिदै आएको माछा मासुलाई रोक्ने भनेर महानगरले चलाएको अभियान निरर्थक बनेको छ । स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासु बिक्रीमा कडाई गरिएपनि केहि दिनमै महानगरलाई व्यापारीले टेर्न छोडेका हुन् ।

विराटनगरको विभिन्न साप्ताहिक हाटबजार होस या अन्य खुल्ला स्थानमा माछा मासुको विक्री भईरहेको छ । निगरानीका लागी महानगरबाट खटिएको नगर प्रहरीले बेला बेलामा जफत गर्ने गरेपनि व्यापारीले खासै याद नगरी कारोबार गरिरहेका छन् । महानगरपालिकाको पशुपक्षी विकास शाखाले नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरणमा पूर्ण रोक लगाउनको लागी विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको थियो । तर, निर्णय गरेको २ महिना पनि वित्न नपाउँदै माछामासु खुला रुपमा किनबेच भईरहेको छ ।

हुन त महानगरले चलाएका सबै अभियान फेल नै भईरहेका छन् । अभियान चलाएका कुनैपनि काम सफल नदेखिएको भन्दै आलोचना समेत हुने गरेको छ । यदि महानगरले अभियान चलाउने नै हो भने कडाईका साथ निरन्तरता दिनुपर्छ भन्ने माग हुने गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने भनेर २ महिना अगाडी खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता पनि दिएको थियो । कतिपय स्थानहरुमा कडाईका साथ नै लागी पर्यो तर त्यो अभियानलाई निरन्तरता नदिदाँ आज माछा मासु खुला रुपमा नै विक्री वितरण भईरहेको देख्न सकिन्छ ।

विराटनगर महानगरपालिकाका नागेश कोईरालाले भने आफुहरुको अभियान निरन्तरता नै रहेको बताएका छन् । विराटनगर महानगरपालिकाको १९ वटै वडामा हरेक दिन हटिया लागी रहेको हुन्छ । महानगरको कुनै ठाँउमा आँखा पुग्न सकेन होला तर हाम्रो अभियान भने पछि नहटेको मेयर कोईरालाले आवर विराटनगरलाई बताए ।

महानगरको यो अभियान एक हिसावले राम्रै पनि हो । आम उपभोत्ताले पैसा तिरेपछि स्वास्थ्यकर वस्तु पाउनु उसको नैर्सगिक अधिकार हो । तर महानगरको यो अभियानलाई व्यापारीहरुले पनि साथ दिनु आवश्यकको मेयर कोईरालाको ठम्याई छ । महानगरले थालेको अभियानबाट आफुहरु पछि नहट्ने मेयर कोईरालाको दावी छ ।

हुनत यसमा दायित्व महानगरको मात्रै हैन स्वयमा व्यापारी र आम उपभोत्ताको पनि जिम्मेवारी उतिकै नै हुन्छ । खुला रुपमा माछा मासु नबेच्नु भनिसकेपछि व्यापारीहरुले पनि अटेर गर्नुभएन । अनि खुला रुपमा विक्री वितरण गर्न राखिएका माछा मासु कतिको स्वाथ्यकर छ अनि किन्न लायक छ भनेर आम उभोक्ताले पनि हेर्न र बुझ्न जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्