प्रेम देवान
विराटनगर । दुईदिनपछि भदौ २१ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको ५५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । अबको दुईदिनपछि आयोजना हुने रथयात्राको लागि व्वस्थापकीय कार्यसहित रथ श्रृंगार कार्य सुरु गरिएको हो ।
अहिले रथयात्रालाई आकर्षण बनाउनको लागि रथको साजसज्जा शुरु गरिएको छ । भारतको कलकत्ताबाट झिकाईएको कालीगढहरु रथ श्रृंगारका निम्ति खटिरहेका छन् । रथको प्राविधिक चेकजाँच र ग्रिसिङको काम भने यसअघि नै सम्पन्न भईसकेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालिगढहरुले रथको साजसज्जाको काम गरिरहेका छन् । यसपटकको रथ श्रृंगार बिगतभन्दा थप आर्कषक हुने कालिगढ नवो पाखिराको भनाई छ । रथयात्रा भब्यरुपमा सम्पन्न गर्न १८ वटा उपसमितिहरु गठन गरिसकिएको छ भने ५ सय बढी स्वयंसेवकहरु समेत छनौट गरिसकिएको आयोजक समितिले जनाएको छ ।
रथले परिक्रमा गर्ने विराटनगरको मेनरोड सहित धरानरोडका पोल तथा घरहरुमा ध्वजापताका तथा भगवान श्रीराधाकृष्णको चित्र अंकित झण्डाहरु टांगिसकिएको छ । रथयात्राको ब्यवस्थापकीय कार्यहरु लगभग पुरा भईसकेको र यतिखेर श्रृंगार कार्य भईरहेको मन्दिर समितिका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले बताउनुभयो ।
कोरोना महामारी निम्तिएप्छि बिगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । अघिल्लो बर्ष निकालिएको रथयात्रा समेत कोरोनाकै कारण प्रभावित भएको थियो । त्यसको अघिल्लो बर्ष परम्परा धान्ने हिसाबले खटयात्रा मात्र निकालिएको थियो । यसपटक अवस्था सबैप्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढने मन्दिर समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिनुभयो ।
मन्दिर परिसरबाट भदौ २१ गते दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भगर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ । त्यसअघिनै रथको अघिल्लतिर सडक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । सांस्कृतिक झांकीमा सतार, सन्थाल, मुडियारी, डांँडिया र नौमति बाजासहित ३ दर्जन बढी विभिन्न जातिय संघसंस्थाले सहभागिता जनाउने छन् । रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गरी पुन:मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ ।
यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिने छ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिने भएको छ । यस पटकको रथयात्रालाई भने देशभरका नगरपालिका तथा महानगरपालिकाका प्रमुख तथा उप्रमुखहरुले पनि रथयात्राको दर्शन गर्ने भएका छन् ।
देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रम विराटनगर महानगरपालिकाले आयोजना गरेको छ । त्यहि दिन कार्यक्रम परेकोले अन्य महानगर, उप–महानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु समेत आउने कार्यक्रम छ । उनीहरुलाई पनि विराटनगरको रथयत्रा अवलोकन गराउने कार्यक्रम छ । भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै पर्ने भएकाले सिटी नेटको कार्यक्रम सकिएपछि रथयात्राको दर्शन गराईने छ ।