विराटनगर । विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।
विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडि कोशी प्रोजेक्ट रानी विराटनगर सडक खण्ड अन्तर्गत बाटो क्रस गर्ने क्रममा बसले रंगेली १ बस्ने ६२ वर्षीय गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । सोमबार विद्यार्थी पुर्याएर फर्कदै गर्दा ग १ ख ७६९९ नम्बरको बसले श्रेष्ठलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भिर घाईते भएका श्रेष्ठलाई तत्काल न्युरो अस्पताल विराटनगर लगिएको थियो । टाउकोमा गम्भिर चोट लागेका कारण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने बस चालक विराटनगर ३ का ५६ वर्षीय दल बहादुर ल कार्कीलाई हाल ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको मोरङका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
यस अगाडि पनि विराटनगरको एक निजी विद्यालयको बसले एक विद्यार्थीलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।