चरित्रको पगरी महिलाले मात्रै भिर्नुपर्ने ?

चरित्रको पगरी महिलाले मात्रै भिर्नुपर्ने ?

साउनको दोस्रो हप्ता दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र एक महिलाबीच प्रेमभाव प्रकट भएको भिडियो टिकटक मार्फत सार्वजनिक भयो । नसामा लट्ठ भएकी महिलाले टिकटक लाइभमा नै दुईजना बीचको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । त्यसो त त्यो अन्जानमा नै भएको हुनुपर्छ, यसको विषयमा मैले खासै गम्भिर भएर बुझ्न चाहिन ।

एकाएक भाइरल भएका ती जोडीको पृष्ठभूमि खोज्न थालियो । त्यो भन्दा धेरै महिलाको विगत खोतल्न तलिन भए समाजका केही अगुवा भनौदाहरु, उनको श्रीमान को थिए ? माइती कहाँ हो ? अनि श्रीमानसँगको सम्बन्ध कस्तो छ ? अगरमबगरम प्रश्नको वाँण ती महिलातर्फ प्रहार हुन थाल्यो । हुन त महिला र पुरुष नै सहि भने चाहीँ होइन । प्रशासकीय अधिकृत विवाहित थिए भने ती महिला पनि विवाहित नै थिइन् । कसैको घरव्यवाहारमा आगो लगाउने काम लोग्ने मान्छे होस् या स्वास्नी मान्छे दुवैतर्फको गलत कदम चाहिँ हो ।

यसलाई नकार्न सकिन्न । तर, लोग्ने मान्छेको हकमा भने सामाजिक हैसियत, विगत र वर्तमानको खोजि भएको कमै पाए । ती महिलाको सामाजिक सञ्जालमा प्रोफाइल ‘सर्च’ गर्ने देखि लिएर श्रीमानसँगको सम्बन्ध विग्रिनुको कारणहरुको विषयमा पनि आ–आफ्नो धारणा राख्न सुरु गरे । ताजा घटना अर्थात इलामतर्फ विषयलाई मोड्न चाहेँ । मंगलबार दिनभर सामाजिक सञ्जाल र समाचारमा इलाम माइजोगमाईका प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो र समाचारका हेडलाइनले खुब मार्केट लियो । त्यसको निरन्तरता अझै पनि रोकिएको छैन । प्रमुख प्रशासकीय अधिकृत र महिला कर्मचारीबीचको अनैतिक क्रियाकलापको भिडियो ‘रुटिन अफ इलाम बन्द’ ले भाग एक, भाग दुई भन्दै सार्वजनिक गरेको थियो ।

समाचारका हेडलाइन भिडियो सार्वजनिकमा मात्रै सिमित भने रहेन अहिले महिला कर्मचारीको ‘फेसबुक एकाउण्ट’ समेत खोजि गर्दै स्कृनसर्ट गरेर समाजिक सञ्जालमा यत्रतत्र पोष्ट गरिन थालिएको छ । उनीसँगै सार्वजनिक भएको पुरुषको भने कुनै अत्तोपत्तो छैन । गल्ति गर्ने दुवैजनाले प्रशासनिक कारबाही त बेहोर्ला नै तर समाजले दिने सजाय ती महिलाको लागि कति घातक छ भन्ने अलिकति पनि महसुस भएको छ या छैन ? पुरुषले बाँच्ने समाजमा महिलाले बाँच्नु पाउने अधिकार छ कि छैन ? महिलाको चरित्र हत्याले सिमा नाघ्दै गर्दा पुरुषको पृष्ठभूमि खोतलिनुपर्छ भन्ने यो लेखको मान्यता भने होइन ।

तर, महिलाका विषयमा बोल्दै वा विषय उठान गर्दैगर्दा महिला प्रतिको भक्तिभाव भन्ने धारणा राख्ने पुरुष पनि हामी बाँचेकै समाजमा पाए । अरुलाई खाने बाघले आफू या आफ्नो परिवारलाई पनि खान्छ भन्ने हेक्का किन मान्छेमा रहँदैन ? दुवैजनाले मिलेर या भनौँ सहमतिमा भएको विषयमा अलिक धेरै महिलाले मात्रै टिकाटिप्पणी बेहोर्नुपर्ने भन्ने संविधानको कुन धारामा उल्लेख गरिएको छ या धार्मिक ग्रन्थको कुन शास्त्रमा लेखिएको छ ? भर्खरै अधिकृतद्धयको साँठगाँठ महिलाहरुसँग जोडिएको विषयमा मात्रै नभएर गायिका समिक्षा अधिकारी र पल शाह, क्रिकेटर सन्दिप लामिछाने र उसँग जोडिएको महिलाको कुरा गरौँ ।

म धेरै लामिछाने तिर जान चाहिन उनको केस अहिले पनि अदालतमा चलिरहेकै छ । दोषि करार भएका छैनन् । तर, पल शाहको विषयमा भने बोल्न जरुरी ठाने । बालात्कारको आरोपमा साजाय भुक्तान गरेर जेल मुक्त भएपछि शाहलाई गरिएको जयजयकार र गायिका अधिकारीलाई समाजले दिएको पीडामा असमानताका खाडल कति धेरै छ प्रष्ट देखिन्छ । समानरुपमा बाँच्ने अधिकार भएको समाजिक संरचनामा यो असमानताको खाडल कहिले पुरिएला ? जसोतसो अपमान र पीडाका घाउ बोकेर बाँच्न खोज्ने समिक्षाको जस्तो आँट ती महिला अधिकृतमा होला नै तर परिवारले उनी प्रति राख्ने धारणा कस्तो रहन्छ ? हो गल्ति गरेकै हुन् । कार्यालय हाताभित्र व्यक्तिगत जीवनमा भइपर्ने क्रियाकलाप गर्नु गल्ति हो तर सार्वजनिक भएको भिडियोलाई फण्डा बनाएर, केटीको प्रोफाइल खोज्दै सामाजिक सञ्जालमा छुर्न झनै गल्ति भएको छ । यस्ता संवेदशिल विषयमा समाजमा बाँच्ने तपाई हामी सबै सुध्रिने कि नसुध्रिने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्