विराटनगरमा भदौ २५ गते समाजवादी मोर्चाको सन्देशसभा

विराटनगरमा भदौ २५ गते समाजवादी मोर्चाको सन्देशसभा

विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समापन पनि विराटनगरमै गर्न लागेको हो । विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रदेश अध्यक्ष दिपक याक्खाले बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विराटनगरको सन्देशसभालाई सम्बोधन गर्नेछन् ।

प्रदेशस्तरीय सन्देशसभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । विराटनगरबाट समाजवादी मोर्चाले मुलकलाई समाजवादी मोर्चामा सबै शक्तिलाई आवद्ध हुन आह्वान गर्ने सन्देश प्रवाह गर्ने दावी छ । सन्देश सभामा चार वटै दलका करिब ४ हजार अगुवा कार्यकर्ता प्रदेशभरीबाट सहभागी हुन विराटनगर आउनेछन् ।

जसका लागि समाजवादी मोर्चाले चारवटै पार्टीलाई कोटा छुट्याएर १–१ हजार अगुवा कार्यकर्ता ल्याउन सर्कुलर गरेको छ । ‘यही भाद्र २५ गते सोमबार दिनको १२ः१५ बजेबाट मोर्चाको प्रदेशस्तरीय सन्देशसभा विराटनगरको होटल मनास्लुमा हुने भएको हुँदा कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ,’ सर्कुलरमा भनिएको छ ।
उनीहरुले सबै जिल्लामा समाजवादी मोर्चाको जिल्ला बैठक बसेर सन्देश सभालाई सफल पार्न आवश्यक तयारी, प्रचारप्रसार र जनसहभागीता जुटाउन सहयोग गर्न पनि आग्रह गरेका छन् । सभामा सहभागी गराउनका लागि विराटनगर, मोरङ, सुनसरी र झापालाई बढी प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्