विराटनगरमा नगरप्रहरीको त्यो रुप, जसपाका अध्यक्ष यादवमाथि दुव्यर्वहार

विराटनगरमा नगरप्रहरीको त्यो रुप, जसपाका अध्यक्ष यादवमाथि दुव्यर्वहार

विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयमा महानगरपालिका विरुद्ध आन्दोलन घोषणा भएको हो ।

अध्यक्ष यादवले आफुमाथि भएको दुव्र्यवहार बारे चारैतर्फबाट प्रतिक्रिया र नगर प्रहरी विरुद्ध आक्रोश पोखिएको बताए । भिडियो सार्वजानिक हुनु भन्दा अगाडी नै नगर प्रहरीले गरेको दुव्र्यवहारपूर्ण कार्यको विषयमा महानगरपालिका प्रमुख नागेश कोइरालाले माफी मागेर घटना मिलाएका थिए । दुव्र्यवहार भएपछि प्रमुख कोइरालाले यादवलाई भेटेर गम्भीर कमजोरी भएको भन्दै नगर प्रहरीकोतर्फबाट माफी मागेर फर्केको यादवले बताएका छन् ।

‘कुरा मिलिसकेको थियो, तर भिडियो सार्वजानिक भएपछि चौतर्फी विरोध सिर्जनाभयो’ अध्यक्ष यादवले भने–शान्तिपूर्ण रुपमा आन्दोलन हुन्छ, दुव्र्यवहार गर्ने नगर प्रहरीलाई बर्खास्त गर्नुपर्ने माग अगाडी सारिएको छ ।

के भएको थियो घटना
अस्पताल चौकमा विराटनगरले सडकमा सवारी पार्किङ निषेध क्षेत्र तोकेको छ । बुधबार ९ बजे निषेध क्षेत्र तोकिएको स्थानमा एउटा सिटी सफारी रोकिराखेको अवस्थामा नगर प्रहरीले लक लगाई दिएको थियो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पनि सिटी सफारीको लक खोलिएको थिएन । त्यतिकैमा यादव अस्पताल चौकमा रहेको स्नेहा फार्मेसीमा पुगेका थिए । त्यहि क्रममा सिटी सफारी चालकले चिनेको व्यक्ति, मोरङका नेता यादवलाई सिटीको लक खोलाई दिन आग्रह गरे । त्यसपछि त्यहिं उभिएका नगर प्रहरीलाई यादवले बोलाएर आग्रह गरे । ‘भाई कि फाइन लिनु र लक खोलिदिनु, हैन भने बिहानदेखि के गरेको ? गरिब मान्छे कसरी बाँच्छ कमाई खाने साधन रोकेर’ यादवले आफ्नो आग्रह बारे सुनाउँदै भने–त्यसपछि केहिबेरमा ठूलो टोलि भेला भएर पसल घेरेर आफुमाथि हातपात गरे ।

यद्यपी अध्यक्ष यादवले घटनाप्रति महानगरपालिका प्रमुखले नै माफी मागिसकेको विषय भएकोले आफुलाई नराम्रो महसुश नभएको बताए । तर, आज एकाएक भिडियो सार्वजानिक भएपछि त्यो हेरेर नराम्रो लागिरहेको उनले सुनाए । ‘चिन्नु नचिन्नु भन्दा पनि नगरवासीसँग व्यवहार राम्रो गर्नुपर्ने नगर प्रहरी फौजी तरिकाको देखियो’ यादवले भने–गलत मनोवृत्ति भएकाहरुलाई कारवाही गरेर निकाल्नुपर्छ भन्ने मागसहित विराटनगर महानगरपालिका केन्द्रीत आन्दोलन गर्नेछौं ।

महानगरपालिका नगर प्रहरीले गरेको दुव्र्यवहारपूर्ण घटनाको विषयमा चौतर्फी विरोध भएको छ । काँग्रेस भित्रको गुट, उप–गुटको राजनीति समेत प्रवेश पाउँदा नगर प्रमुख कोइरालालाई निरंकुश देखाउन घटनालाई धेरै उचाल्ने स्थिति देखिएको छ । विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गरेको विषय अझै सबैले चित्त नबुझाई रहेको बेला यादवमाथिको दुव्र्यवहारलाई आधार बनाएर नजिकीएको चाडपर्वमा सडक पार्किङ खुलाउन आन्दोलन उचाल्ने संभावना रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्