विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रकारितामा सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म रहेको बताएका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख खापुङले पुराना कुरा सम्झदै भने –“सन् १९७२ मा अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सनले वासिङ्टन डिसीस्थीत रहेको डेमोक्र्याटिक पार्टीको भवन वाटरगेटमा महत्वपूर्ण कागजात चोरीको आरोप लाग्यो । पत्रकारहरुले खोजले उक्त कुरा पुष्टी भयो र राष्ट्रपतिलाई महाभियोग लागि बर्खास्त भए ।’ पत्रकारिता सत्यमा रहदा शक्तिशाली व्यक्तिलाई पनि महाभियोग लाग्ने समेत उनले बताए ।
आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । झा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति अध्यक्ष हुन् ।
श्री पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘कोशराज रेग्मी राष्ट्रिय पुरस्कार’ नेपाल पत्रकार महासंघ, मोरङको आयोजनाबाट नेपालको पहिलो पत्रकार मानिएका मोतिराम भट्टको स्मृति दिवसका अवसरमा पुरस्कृत गरिँदै आएको छ । यसवर्ष भट्टस्मृति दिवस २८ गते परेता पनि उक्त राष्ट्रिय शोक परेकाले आज गर्नुपरेको हो ।
पुरस्कार ग्रहण गर्दै धर्मेन्द्र झाले नेपालका मृर्धन्य व्यक्तित्व कोशराज रेग्मीसँग जोडिनु आफ्नो अहोभाग्य रहेको बताए ।
उनले भने,‘उहाँ नेपाली पत्रकारिता क्षेत्रमा आदरणीय हुनुहुन्छ ।” त्यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा विचलन आएको हल्लाहरु प्रति झाले पहिलो आफूहरु प्रतिवद्धतामा छौ कि छैनौ ? मनन् गर्नुपर्नेमा जोड दिए । उनले भने,‘पत्रकारिताप्रति प्रतिवद्धतामा छौँ भने विचलन छैन भन्ने बुझ्नुपर्यो । प्रतिवद्धताबाट टाढिएका छौँ भने सुधारिएर पुनः प्रतिवद्धतामै फर्किनुपर्यो ।”