विराटनगरले सञ्चालनमा ल्यायो एकीकृत बालस्वास्थ्य शिविर, जरुरी परेकालाई पोषण सामाग्री र उपचार

विराटनगरले सञ्चालनमा ल्यायो एकीकृत बालस्वास्थ्य शिविर, जरुरी परेकालाई पोषण सामाग्री र उपचार

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो ।

विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको प्रमुख उपस्थितिमा शिविर शुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थिति थियो ।

पोषण स्थिति सुधार गर्दै बालबालिकाको बिरामीदर र मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएका छन् ।
शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् ।
“यो विशेष प्रकारको शिविर हो । जसमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिन्छ,” कार्यबाहक मेयर कार्कीले कार्यक्रम बारे जानकारी दिदैं भनिन्–यसले बालबालिकाको संभावित स्वास्थ्य जोखिमका बारेमा जानकारी हुनेछ ।

पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने भएको छ ।

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाई प्रवद्र्धन गर्नका लागि दुईवटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । समस्या पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । १९ वटा वडाबाट सुरु भएको यो शिविर महानगरका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्