जफत गरिएका ५४ किलोभन्दाबढी सुर्तीजन्य पदार्थ विराटनगर महानगरद्वारा नष्ट

जफत गरिएका ५४ किलोभन्दाबढी सुर्तीजन्य पदार्थ विराटनगर महानगरद्वारा नष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको छ।

महानगरले संचारकर्मी र प्रहरी प्रशासन लगायतको उस्थितिमा बरामद सुर्तिजन्य पदार्थ नष्ट गरेको हो । महानगरले २०८० बैशाख १ गते यता विभिन्न पसल र सार्वजनिक स्थानमा बिक्रीका लागि राखिएका ५४ किलो ६ सय ग्राम सुर्तीजन्य पदार्थ जफत गरेको थियो । बरामद गरिएको सुर्तिजन्य पदार्थमा चुरोट,गुटका,रजनीगंधा र खैनी लगायतका उत्पादन रहेका छन् ।

बरामद सुर्तीजन्य पदार्थलाई कसरी नष्ट गर्ने बिषयमा अन्यौलता उत्पन्न भएको थियो । सुर्तीजन्य पदार्थलाई नष्ट गर्ने क्रममा जलाउदा प्लाष्टिक र सुर्तिका कारण वातावरण प्रदुषण हुने समस्या देखिएपछि बरामद सामग्रीलाई टुक्राटुक्रा पार्नुका साथै एसिडको घोलमा डुबाएर नष्ट गरिएको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले ११ औं नगरसभाबाट महानगरभित्र सुर्तिजन्य पदार्थ निषेध गर्ने निर्णय गरेको थियो भने १२ नगरसभाबाट सो सम्बन्धि ऐन समेत ल्याएको थियो । विराटनगर महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री तथा सेवन निषेध गरिएयता बिक्री गरेको भेटिनेलाई पहिलोपटक १० हजार जरिवाना गर्ने नियम बनाईएको छ।

यस्तै दोश्रोपटक भेटिए ३० हजार र तेश्रो पटक समेत सोहि कसुर गरेमा ५० हजारसम्म जरिवाना गर्ने नियम छ । सार्वजनिक स्थानमा कसैले सुर्तीजन्य पदार्थ सेवन गरेको पाईए १ हजार जरिवाना गर्ने नियम छ । महानगरलाई सुर्तिजन्य पदार्थ मुक्त क्षेत्र बनाउन सबै नगरबासीको चासो र सहयोग आवश्यक रहेको महानगर प्रमुख नागेश कोईरालाको भनाई छ ।

महानगरले सुर्तीजन्य पदार्थ निषेध गरेयता सुर्तिजन्य व्यवसाय सम्बन्धि दर्ता र नवीकरणलाई समेत रोकेको छ । तर पनि विराटनगरका सार्वजनिक स्थानहरुमा अझै पनि खुलेआम बिक्री वितरण गर्ने गरेको भेटिन्छ । महानगरले हरेक दिन खुल्ला रुपमा बेच्न राखिएका पसलहरुमा अनुगमनलाई निरन्तरता दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्