विराटनगर । विराटनगर ५ चाँदनी चौकमा रहेको ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बिना संचालन गरेको पाइएको छ । ५ वर्षदेखि हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बिना संचालन गरेको शुक्रबार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।
हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामाग्री विक्री विरण गरेको ३० दिनभित्रमा गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, निरौला ट्रेडर्सले विगत ६ वर्षदेखि अनुमति बिना काटा संचालन गरेको भेटिएको हो ।
अनुगमनपछि निरौलालाई तीन दिन भित्र सम्पूर्ण कागजपत्र लिएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरीक्षक रजनिस साहले जानकारी दिए । दर्ता बिना संचालन गर्ने पसललाई नापतौल ऐन अनुसार कारवाहीको दायारमा ल्याउने उनले बताए ।
निरौला ट्रेडर्सले रडमा ट्रयाक चेन्ज गरेर रड बिक्री गर्ने गरेको उपभोक्ताले आरोप लगाएका छन् । उनले १ सय ९ केजी तौलको ट्रयाक भएको रड बिक्री गरेपछि ९० देखि ९७ केजी रडमा ट्रयाक लगाउने गरेको आरोप छ । यसरी ट्रयाक चेन्ज गरेको रड उनले अन्य खुद्रा पसलहरु भन्दा प्रतिकेजी २ रुपैयाँ सस्तोमा उपभोक्तालाई बिक्री गर्ने गरेको गुनासो रहेको छ । यस विषयमा पनि अनुसन्धान गर्ने गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।
बिहीबार एक जना उपभोक्ताले ५ केजी काँटी खरिद गर्दा २ सय ५० ग्राम कम तौल भेटिएको थियो ।
यता निरौला टे«र्डसका संचालक अनन्त निरौलाले विविध कारणले ढिलाइ भएकोले गर्दा अब गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिएर काँटा संचालन गर्ने बताए ।
तौलको विषयमा भने पसलबाट कुनै पनि उपभोक्तालाई कम सामाग्री नदिएको दाबी गरेका छन् ।