-सुरज दाहाल
प्राचीन ग्रीक कवि हेसियोडले भनेका थिए "बेइमानीको लाभको खोजी नगर बेईमानको लाभ हानि हो।" भर्खरै एउटा चेरी पिकर मिडियाले आफु राजनीतिक पोस्ट कम गर्ने , आम मानिसको जीवन सजिलो बनाउने कुरामा ध्यान दिने र कुनै समुहमा सिमित नहुने भन्दै आफ्नो पेज पुन:सक्रिय गरेको जानकारी दियो र फेरी चेरी पिकिंग गर्न सुरु गर्यो।
चेरी पिकिङ भन्नाले सामान्यत : चेरी टिप्ने प्रक्रिया जस्तै राम्रो फल टिप्ने र नराम्रो फल नटिप्ने जनाउछ जसरि रुटिन अफ नेपाल बन्द नाम गरेको फेसबुक पेजले बालेनको एकोहोरो प्रचार गर्ने र काठमाडौँ महानगरका मेयर बालेनका कुनैपनि आलोचनात्मक कदमको कहिल्यै चर्चा गरेन , स्वतन्त्र मिडियाको काम एकपक्षीय प्रचार गर्ने मात्रै हैन जनप्रतिनिधिको विषयमा राम्रो नराम्रो दुवै कुराको सुचना वा जानकारी आम मानिसमा पुराउने हो।
वास्तवमा त्यो पेज १७ दिन नहुदा पनि संसार चलिरह्यो, आम मानिसले अन्य विभिन्न मिडिया स्रोत बाट समाचार हरु पाई रहे त्यो हुनु र नहुनुले त्यसका संचालक बाहेक अरुलाई केहि फरक पारेन पार्दैन।चेरी पिकर मिडिया र तिनीहरुको प्रभाव सबैले बुझ्न जरुरि छ किनकि फेक न्युज भनेको फेक(झुटो ) तथ्य मात्र होइन आम मानिसलाई गरिने भ्रामक सुचनाको अत्याचार हो।
जर्ज अरवेलले भनेका थिए यदि तिमी सहमत हुन सक्ने किताबहरू मात्र पढ्छौँ भने तिमि धेरै सिक्ने छैनौ ,मिडियाको हकमा पनि यस्तै कुरा लागु हुन्छ यदि हामि मनपर्ने मिडियामा मात्रै निर्भर छौँ भने हामी धेरै कुरा मिस गरिरहेको छौँ। मिडियामा चेरी पिकिङ भन्नाले एक तार्किक भ्रम वा प्रोपगण्डा हो। जुन तब हुन्छ जब कसैले आफ्नो एजेण्डालाई समर्थन गर्ने कुराहरुमा त्यसको विरोधाभासमा वा आलोचनात्म पक्षहरुमा हुने प्रमाणहरूलाई बेवास्ता गर्दै ध्यान केन्द्रित गर्दछ।
ग्रीक कथामा नार्सिसस एक सुन्दर युवक हुन् । जसलाई देखेर दुनियाँ मोहित हुन्थ्यो जसलाई आफू भन्दा सुन्दर कोहि छैन भन्ने भ्रम हुन्छ । नार्सिसस आफ्नो अनुहार हेर्न जलाशय जान्छन र आफ्नै अनुहार हेरेर यति मोहित हुन्छन कि आफ्नो मुहारलाई चुम्बन लिन खोज्दा जलाशयमा डुबेर मृत्यु हुन्छ अर्को कहानीमा नार्सिसस मृत्यु हुँदासम्म आफ्नै अनुहार जलाशयमा हेरिरहन्छन ! यस्तै हालत छ नेपालका केहि मेयर , केहि आशा लाग्दा नेता र उनीहरुका पक्षमा एकपक्षीय प्रचारबाजी गर्ने मिडियाको , उनीहरु आफ्नो फ्यान फलोअर हेर्छन दंग पर्छन र संसारकै सुन्दर र उत्कृष्ट ठान्दै आत्मरतिमा विलिन छन्। मिडियामा हुने "चेरी पिकिङ" एक समस्या ग्रस्त अभ्यासको हो । किनकी पक्षपाती वा अपूर्ण रिपोर्टिङले आम मानिस भ्रमित छन् ! एक हरफ वा एउटा फेसबुक / इन्ष्टा पोस्टमामा दिनभरिको न्युज अपडेट दिएर आफुलाई विशेष ठान्ने र आफुलाई मिडियाको ठान्ने फेसबुक पेजहरु वास्तवमा समाजमा सुचना प्रवाहमा मिम पेज जति पनि प्रभावकारी छैनन । जब मिडिया आउटलेटहरूले विरोधाभासी वा सूक्ष्म जानकारीलाई बेवास्ता गर्दै कुनै विशेष दृष्टिकोण व्यक्ति वा परिस्थितिलाई समर्थन गर्ने जानकारीलाई विशेष रूपमा प्रस्तुत गर्दछ, यसले आम मानिसहरूलाई भ्रमित पार्न सक्छ र विषयको समग्र बुझाइलाई विकृत गर्न सक्छ। यो छनौट र प्रस्तुतीकरण विभिन्न कारकहरूद्वारा प्रेरित हुन सक्छ, पूर्वाग्रह, एजेन्डा-सेटिङ, वा कुनै राजनीतिज्ञलाई नायक बनाउने ईच्छा, यसलाई तपाई मिडियामा हुने चेरी पिकिङको रुपमा बुझ्न सक्नु हुन्छ।
सेयरकास्ट इनिसियटिभ नेपालले गत वर्ष (२०२२) गरेको सर्वेक्षणमा ६२ प्रतिशत नेपालीले समाचार वा सुचना अनलाइन मिडियाबाट लिने गरेको देखिएको छ । भने पछिल्लो समय छापा-पत्रपत्रिका वा परम्परागत रुपमा कागजमा छापिदै आएका सञ्चारमा पाठकको संख्या घट्दै आएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा केवल २५ प्रतिशतले मात्रै दैनिक पत्रिका(न्युजपेपर ) पढ्ने गरेको पाइएको थियो । सन् २०१८ मा यसको हिस्सा ४० प्रतिशत थियो ।समाचारपत्र (म्यागजिन)को प्रयोग पनि घटेको छ । उक्त सर्वेमा केवल १५ प्रतिशत उत्तरदाताहरूले दैनिक आधारमा पत्रिकाहरू पढ्ने देखायो जुन २०१८ मा २५ प्रतिशत थियो। सेयरकास्टको नेपाल मिडिया सर्भेको प्रतिवेदनले यो पनि प्रकाश पारेको छ कि परम्परागत कागजमा छापिने मिडियाका पाठकहरूको गिरावट युवाहरूमा बढी छ । उदाहरणका लागि, १८-२४ वर्षका उत्तरदाताहरू मध्य केवल १० प्रतिशतले मात्र पत्रपत्रिका पढ्ने गर्दछन भने ५५ -६४ वर्षको उमेर समुहमा यसको हिस्सा ३५ प्रतिशत छ। अर्थात सय जना १८ देखि २४ वर्षका युवायुवती मध्ये १० जनाले मात्रै कागजमा छापिने समाचारपत्र पढने गरेका छन् । सन् २०२२ मा रोयटर्सले गरेको सर्वेक्षणमा विश्वभरका ७३ प्रतिशत वयस्क मानिसहरूले अनलाइन माध्यमबाट समाचार वा सुचाना लिने गर्दछन् । जुन २०१९ मा ६३ प्रतिशत थियो। रोयटर्सले गरेको सर्वेक्षणमा संसारभरका ४१ प्रतिशत १८ देखि २४ वर्षका उमेर समुहका युवा युवतीको समाचार प्राप्त गर्ने माध्यम अनलाइन हो। अधिकांश युवा समुह र आम मानिसको ठुलो हिस्सा समाचार र सुचनाको लागि अनलाइन मिडियामा निर्भर हुँदै गर्दा आफुलाई ठुला जिम्मेवार र प्रभावकारी ठान्ने मिडियाहरु आफुले प्रकाशित गर्ने समाचार र प्रवाह गर्ने सुचनाको लागि जिम्मेवार हुने पर्दछ पेज पब्लिस हुनु र नहुनुसँग आम मानिसको सरोकार हुदैन । आम मानिसको सरोकार कुनैपनि मिडियाले कस्तो र कति विश्वसनीय र निष्पक्ष समाचार प्रकाशित गर्दछन् भन्ने कुरासँग हुन्छ।