एमाले कोशी प्रदेश अधिवेशनको विराटनगरमा रौनक, बहसमा पहिचान मुद्दा

एमाले कोशी प्रदेश अधिवेशनको विराटनगरमा रौनक, बहसमा पहिचान मुद्दा

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ ।
कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका लागि प्रदेशभरबाट १०५० प्रतिनिधि छनौट हुनेछन् । तर, अहिलेसम्म मनोनित गर्ने प्रतिनिधिबारे अन्तिम निर्णय नभएकोले यसको केहि संख्या घट्ने अध्यक्ष न्यौपाने बताएका छन् ।

प्रदेश संरचना बनेपछि एमालेको यो पहिलो नेतृत्व छनौट गर्ने अधिवेशन हुँदैछ । विराटनगरमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मनास्लु होटलमा गर्नेछन् । अधिवेशनका लागि १२ उपसमिति गठन गरिएको छ ।
पाँचजना पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २१५ जनाको प्रदेश कमिटि गठन हुनेछ । अध्यक्षका लागि चुनावी मैदानमा बिनोद ढकाल, घनश्याम खतिवडा उमेदवार हुने देखिएको छ ।
अध्यक्ष न्यौपानेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने यदि नभएमा निर्वाचनको प्रक्रियाबाट टुङ्गो लगाउने जानकारी दिए ।

बहसमा पहिचान मुद्दा
नेकपा एमालेले पछिल्लो समय कोशी प्रदेश नामाकरणमा देखिएको पहिचानको मुद्दालाई समेत अधिवेशनमा बहस गर्ने भएको छ । विभिन्न मुद्दा उठाएर देश भित्र गठबन्धन र बाहिरी शक्तिले समेत एमालेमाथि घेराबन्दी गरिरहेका छन्, कोशी प्रचार उपसमिति संयोजक शैलेश लामाले भने–यसको विषयमा सार्वभौम प्रतिनिधि सम्मिलित अधिवेशनले बहस गर्नेछ ।
लामाले अहिलेको सन्दर्भमा एमालेको अधिवेशनले भोलिको नेतृत्व र कोशी प्रदेशमा एमालेको बर्चश्व कसरी कायम गर्ने भन्ने निचोड निकालेर नेतृत्वलाई कार्यभार सुम्पने दावी गरेका छन् ।

एमालेमा छैन विवाद
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सचिव तथा कोशी इन्चार्ज रघुबीरु महासेठले एमालेमा कुनै विवाद नभएको विषयलाई जर्बरजस्ती कोट्याउन खोजेको बताएका छन् । उनले दशौं महाधिवेशनको कार्यदेश अनुसार कसैले पनि अध्यक्षको उमेदवार बन्ने वा आकांक्षा राख्ने भन्ने कुरा नभएको दावी गरेका हुन् । पत्रकार सम्मेलमा सचिव महासेठले एमाले भित्र देशी र विदेशी शक्तिहरुको चलखेल बढिरहेको बताएका छन् । ‘बाहिरी प्रभाव हावी भएको छ, गठबन्धन र एमाले एकएकतर्फ रहेको छ तर जनता एमालेसँग विश्वास गरेर बसेका छन्’ महासेठले भने–षड्यन्त्र चिर्दै अधिवेशन हुनेछ, सर्वसम्मत नभए निर्वाचनमा जानेछौं, त्यसैले निर्वाचन आयोगको परिकल्पना एमाले भित्र छ ।

स्पष्ट प्यानल प्रभावित
नेकपा एमालेको अधिवेशनले विराटनगरमा आउने पाहुना बढेका छन् । पार्टीको कार्यक्रमका लागि आएकाहरुले भने स्पष्ट प्यानलवाइज निर्वाचन हुने संकेत दिएका छन् । पार्टी अध्यक्ष केपी ओली लाइन र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लाइनबीच टकराव भईरहेको बेला कोशी अधिवेशन समेत टकराउने देखिएको छ । संयोग समेत कोशी प्रदेश अध्यक्ष ओली र पूर्व एमाले उपाध्यक्ष तथा राष्ट्रपति भण्डारीको चासोमा पर्दछ । उनीहरु दुवैजना यहि प्रदेशको भएका कारण अधिवेशनमा टकराव देखिने सुनिश्चित भएको छ । यद्यपी ओलीले आफ्नो प्यानलको उमेदवारको रुपमा कसैको पनि नाम नलिएको दावी छ । यद्यपी अधिवेशन बारे एकजना प्रतिनिधिसँग सोध्दा उनले केपी ओलीले लाइन दिएका व्यक्तिलाई भोट दिने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्