विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिका कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी हुन् ।
राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताएकी छिन् ।
उनले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको उल्लेख गरिन् । योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेकोमा कार्कीको चिन्ता छ ।
उनले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको चर्चा गरिन् । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भनिन्, “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”
वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।