विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा हुने भएको छ ।
आजै अर्थात शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको छ ।
अधिवेशनबाट नेतृत्व चयनको तयारी भईरहदा सर्वसम्मत चयन गर्ने वा प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइरहेको छ ।
कोशी प्रदेशको अध्यक्षमा यतिबेला मोरङका दुईजना नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाको नाम चर्चामा रहेको छ । उनीहरु दुईबीच प्रतिस्पर्धा हुने एमालेकै नेता कार्यकर्ताहरुको भनाई छ । त्यसो त स्रोतका अनुसार अध्यक्ष ओलीले खतिवडालाई कोशी प्रदेशको अध्यक्ष बनाउने तयारीमा रहेका छन् । भने, यता विनोद ढकाल संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ निकट रहेको र नेम्वाङले अध्यक्षमा ढकाललाई अगाडि सारेको ढकाल निकटका एक नेताले बताए । उनका अनुसार नेम्वाङको मृत्यु हुनु अगाडि ढकालले टेलिफोन मार्फत सम्पर्क गर्न खोजेको तर आफू बिरामी भएका कारण बिहान कुरा गर्ने भनाई सहित फोन मार्फत विदा भएका नेम्वाङ सँधैका लागि अस्ताए । जुन संवाद नेम्वाङको ढकाल सँग अन्तिम रहेको हुन सक्ने ती नेताको दाबी छ ।
तत्कालिन समय माधबकुमार नेपाल निकट रहेको खतिवडालाई विद्यार्थी अवस्थादेखि नै ओली समूहमा सक्रिय रहँदै आएका ढकालले टक्कर दिने भएका छन् । एमाले मोरङको पाँचौ अधिवेशनमा नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए ।
त्यसो त अध्यक्षका आकांक्षीमा हालका प्रदेश अध्यक्ष संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई केन्द्रीय सदस्य बनाएर खतिवडाको समर्थनमा उभ्याउने प्रयास भइरहेको बुझिएको छ । अध्यक्षको आकांक्षा राख्दै आएका हाल उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङलाई पुनः उपाध्यक्ष बनाउन नेताहरुले लबिइङ गरिरहेका छन् । यदि न्यौपाने र चेम्जोङ पछि हटे ढकाल र खतिवडा प्रतिस्पर्धाको मैदानमा रहने देखिएको छ ।
स्थायी समितिका सदस्यहरु अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत नेताहरु खतिवडाको पक्षमा उभिएका छन् भने प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य भने ढकालको पक्षमा खुलेको एमालेका एक केन्द्रिय सदस्यले बताए ।
ढकाल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी निकट रहेको चर्चा हुने गरेको छ । सोही कारण पनि अध्यक्ष ओलीसँगको सम्बन्ध चिसिएको भन्ने गरिन्छ । केहि समय अगाडि एमाले नेता कणर् थापाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने अन्तरवार्ता दिएपछि ओली मात्र नभएर सिंगो एमाले नै तरंगित भएको थियो ।
संसदीय राजनीतिमा लगातार पराजित रहेका उनका समकालिनहरु अधिकांश मन्त्री, मुख्यमन्त्री मात्र भएका छैनन्, पार्टीको स्थायी समिति र पोलिटब्युरोसम्म पुगिसकेका छन् । तर, हक्की स्वभावका ढकाल भने आफ्नै पार्टी भित्र अवसरबाट बन्चित रहको नेताको रुपमा पनि चिनिन्छन् । उनी पार्टीको केन्द्रीय सदस्य मात्र छन् ।
त्यसो त ढकालले अध्यक्ष ओलीलाई पार्टीभित्र अल्पमतमा रहेको संकटपूणर् अवस्था पनि साथ दिएका छन् भने ओलीका कमजोरीको उनकै अगाडि पनि आलोचना गर्ने गरेका छन् । उनको हक्कि स्वभावले पनि ओलीले पछिल्लो समयमा उनलाई कर्नरमा पार्दै लगेको एमालेजनको बुझाइ छ ।
प्रदेशका अन्य नेताहरु शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकालसँग विद्यार्थी राजनीतिका समकालिन भएपनि उनीहरु स्थायी समिति सदस्य बन्दा ढकालले पोलिटब्युरो सदस्य सरहको प्रदेश अध्यक्षको आकांक्षा राखेका छन् । अध्यक्ष ओलीको साथ पाउन ढकालले प्रयास गरेका थिए । तर, ओलीले संकेत नदिएको बताइन्छ । अध्यक्षले ओलीले नेतृत्वका लागि अघि बढन कुनै संकेत नदिएको भएपनि प्रदेश अध्यक्षको तयारी अगाडिदेखि नै गरेकाले उनी व्याक हुने अवस्था नरहेको नेताहरू बताउँछन् । सुवासचन्द्र नेम्वाङको निधनपछि ढकालको पक्षमा कुनै पनि नेताहरु खुल्न सकेका छैनन् । तर, श्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीको सद्धभाव रहेको छ ।
खतिवडा पूर्वसांसद तथा एमालेका पुराना नेता हुन् । पार्टीको नवौं केन्द्रीय महाधिवेशनअघि नेपाल पक्ष छाडेर खतिवडा ओलीतिर लागेका थिए ।
प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । मनोनयन गर्ने कि नगर्ने भन्ने विवादको कारण निणर्य हुन सकेको छैन । कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए ।
प्रदेश अध्यक्ष न्यौपानेले अधिवेशनले सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने बताए । सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने उनले बताए । अध्यक्षका आकांक्षीले नै खुलेर आफ्नो उम्मेदवारीबारे नबोलेको कारण अन्य पदाधिकारीको आकांक्षा राख्नेहरु पनि मौन छन् ।