विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् ।
उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा कोठा बसेर बुटिकको काम गर्ने उनको दैनिकी बाध्यतासँग जोडिएको छ । उनी १७ वर्ष अगाडीदेखि ब्लड क्यान्सर पीडित हुन् । पछिल्लो पाँच महिनादेखि उनलाई पाठेघरको क्यान्सर समेत थपिएपछि जीवन झन् थलिदैं गएको बताउँछिन् ।
मोरङ उर्लाबारीस्थित मंगलबारे माइती घर भएकी उनको उपचार गराउने बुबाको समेत एकवर्ष अगाडी निधन भएको छ । लाखौं खर्च गरेर छोरीको जीवन रक्षा गरिरहेका बाबुको मृत्यु भएपछि आमा र भाईसँग मात्रै उनको भर गर्ने ठाउँ समेत सकिएको छ ।
भारतमा उनको विवाह भएको थियो । विवाहलगतै ब्लड क्यान्सर देखिएपछि उनलाई श्रीमान् र घरपरिवारले वेवास्ता गरिदिए । उनी माईती फर्केर आईन् । केहिपछि श्रीमानसँग उनको पुर्नमिलन भयो । श्रीमान् साथमा रहँदा दुई सन्तान जन्मिए । १० वर्षका छोरा र ८ वर्षकी छोरी भएपछि श्रीमान् भारत नै फर्किए । तर, उनको समेत किड्नी ड्यामेज भएर मृत्यु भएको ममताले जानकारी दिइन् ।
पीडा भित्रका पीडा बोकेर पनि हिम्मत नहारेकी ममता ब्लड क्यान्सरसँग लडिरहेको बेला पाँच महिना अगाडी पाठेघरको क्यान्सरले गाँजेको बताउँछिन् । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा उनलाई पाठेघर क्यान्सर संक्रमण पुष्टि भएको थियो ।
यतिबेर ब्लड क्यान्सरको उपचारमा भएभरको जायजेथा सकियो, ममताले भनिन्–अब पाठेघर क्यान्सरको उपचारका लागि आवश्यक पर्ने रकम जोहो गर्ने उपाय छैन । उनलाई पाठेघरको क्यान्सर संक्रमण देखिएपछि अत्याधिक रक्तश्राव हुने गरेको छ । जतिसक्दो उपचार गरेर न्यूनीकरण गर्ने उपचारका लागि पैसा नभएको गुनासो गर्छिन् ।
दुईलाख ५० हजार रुपैँया लाग्ने भनिएको छ तर २५० रुपैँया समेत जुटाउन सक्ने अवस्था छैन, ममताले गहभरी आँसु झार्दै भनिन्–मलाई कसैले सहयोग गरिदिए म बाच्ने त थिएँ !
उनी दैनिक बुटिकमा काम गर्दा ४५० रुपैँयासम्म कमाउँदै आएकी थिइन् । तर, पाठेघरमा क्यान्सर भएपछि अधिक ब्लिडिङ्गका कारण काम गर्न सकिरहेकी छैनन् । माइती घरमा आमासँगै रहेका दुई सन्तान सम्झदैं उपचार सहयोगका लागि अपिल गरिरहेकी ममता (ममता महतोे, सिटिजन्स् बैंक, खाता नम्बर १४९०१०००००४५३०४९) सहयोग चाहिरहेकी छिन् । उनले अहिले आफ्नो शरिरमा रगत समेत चढाई रहनु पर्ने बाध्यता रहेको सुनाएकी छिन् ।