विराटनगरमा नेकपा एमालेको प्रदेश अधिवेशन : कार्यकर्ताको बीचमा ढकाल, नेताको बीचमा खतिवडा

विराटनगरमा नेकपा एमालेको प्रदेश अधिवेशन : कार्यकर्ताको बीचमा ढकाल, नेताको बीचमा खतिवडा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत विराटनगरको मनास्लु होटलमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाउन्मुख रहेको छ । अध्यक्षमा मोरङका दुई नेता बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धी भएर उभिएका छन् । मुख्य नेतृत्वमा एकै जिल्लाका दुईजना उभिएको अधिवेशनमा ढकाल र खतिवडाको महत्व पनि स्पष्ट खुलेको छ ।

मनास्लु होटल परिसरमा निर्वाचनको प्रक्रिया सुरु हुनु अगाडीको दृश्य हेर्दा ढकाल कार्यकर्तासँग लोकप्रिय देखिन्छन् । उनीसँग अहिले कोहि पनि नेता देखिएका छैनन् । कार्यकर्ताको घेरामा बसेका ढकालका प्रतिस्पर्धी खतिवडा भने नेताहरुको बीचमा हाँसिरहेको देखिन्छन् । तर, ढकाल आम कार्यकर्ताको साथ लिएर आफ्नो उमेदवारीलाई सार्थकता दिने विश्वासमा देखिएका छन् ।

मोरङमा यी दुई नेताबीच मात्रै प्रतिस्पर्धा हुने अवस्था आए ढकाल सधैं निर्विकल्प मानिन्छन् । तर, प्रदेशभरबाट केन्द्र तहको नेतृत्वमा पुगेका अन्य नेताहरुले यो अधिवेशनमा ढकाललाई तह लगाउने लाइन लिदाँ उनी नेताविहीन नेतृत्वको रुपमा निर्वाचनमा होमिएका हुन् । उनको नजिक कुनैपनि नेता नभएको बेला कार्यकर्ताले भने उत्साहजनक रुपमा साथ दिईरहेका छन् । खतिवडा केन्द्रका नेताको बीचमा रहेर कार्यकर्तालाई आफूलाई मत मागिरहेका छन् ।

एमाले अधिवेशन विराटनगरको अर्को हल्ला भनेको ‘बा’ निर्देशन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई पनि ग्रिनसिंगल नदिएपनि कोशीबाट केन्द्रमा नेतृत्व गर्ने स्थायी समिति, पोलिब्यूरो, केन्द्रीय सदस्य समेतले जिल्लाका अध्यक्षलाई ‘बा’ लाइनमा मत हाल्नु भन्दै खतिवडाको पक्षमा लविङ गरिरहेका छन् । तर, दोस्रो तहका नेताहरुको यो लविङलाई कार्यकर्ताले भने मौन रुपमा अस्वीकार गर्दै मतदानमा आफ्नो विवेक प्रयोग गर्ने मनस्थिति देखाएका छन् । मोरङमा कार्यकर्ताबीच लोकप्रिय रहेका ढकालका सामु खतिवडा कमजोर नै हुने निश्चित छ । बाँकी जिल्लामा नेताहरुको लविङ र निर्देशनले कतिपय कार्यकर्तामा दोधारेपन देखिएको छ । तर, निर्वाचनको मिति साँझ ५ बजेदेखि तय भएका कारण भ्रमबाट अझै केहि सच्चा एमाले कार्यकर्ता ढकालको लाइनमा फर्कने विश्वास एक युवा नेताले व्यक्त गरेका छन् ।

खतिवडाको पहिचान मुद्दामा दोधारे धारणा
प्रदेश १ को पहिलो कार्यकालमा दुई तिहाई बहुमत प्राप्त मुख्यमन्त्री बनेका थिए शेरधन राई । उनले आफ्नो कार्यकाल अवधीभर प्रदेशको नामाकरण गर्ने ईच्छा देखाएनन् । यदि नामाकरणको विषय छ महिना भित्र टुङ्ग्याएको भए सबै विवादको समाधान हुने थियो । तर, नामाकरणमा आलटाल गरेर बिताएका शेरधन राई अहिले घनश्याम खतिवडालाई प्रदेश अध्यक्ष बनाएर कोशी नामसँग बिमती राख्ने पहिचान पक्षधरलाई सम्बोधन गराउने झुटा दावी पेस गरिरहेका छन् ।

कार्यकर्ताले बुझ्ने वा नबुझ्ने राजनीतिक चेतको कुरा छँदैछ, दोस्रो प्रदेशसभाको मुख्यमन्त्री समेत एमालेका हिक्मत कार्की बनेका थिए । उनको पालामा प्रदेशको नाम कोशी रहन पुग्यो । सरकारको नेतृत्व गरेको व्यक्तिले बाँकी राजनीतिक दलहरुलाई सहमति ल्याएरै नामाकरण गराएका हुन् । तर, कोशी नामपछि प्रदेशमा देखिएको पहिचान पक्षधरको आन्दोलनले नामाकरणमा केहि संशोधन गर्नुपर्ने आवाज एमाले भित्र पनि छ । तर, कोशी भन्दा दाँयाबाँया हुनुहुन्न भन्ने एमालेका नेता तथा प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की समेत घनश्याम खतिवडालाई प्रदेश अध्यक्ष बनाएर पहिचान समेट्ने झुटो आश्वासन बाँडिरहेका छन् ।

उमेदवार बनेका खतिवडाले कोशी नाम एमालेले मात्रै राखेको नभई सबै दलहरुको भएको दावी गर्दै अधिवेशनस्थलबाटै भने–कोशी नाम संशोधन यतिकैमा नहुने तर सबै दलहरुले यसको मुद्दालाई समर्थन गर्दा संवैधानिक रुपमा हुने बताए । पार्टीको संस्थागत लाइन बिना सरकार वा त्यससँग सम्बन्धित राजनीतिक मुद्दाको छिनोफानो हुँदैन । तर, एकाएक एमाले भित्र समेत पहिचानको विरोधमा उभिएका हार्डलाइनर नेता जति खतिवडाको पक्षमा देखिएका छन् ।

सुवास नेम्वाङ सम्झदै कार्यकर्ता
नेकपा एमाले भित्र संविधानसभा अध्यक्ष पार्टीका उपाध्यक्ष एवं दलका उपनेता सुवास नेम्वाङ भरपर्दा र राजनीतिक रुपमा सुझबुझ भएका नेताको रुपमा गनिएका थिए । उनी सधैं केपी शर्मा ओलीको लाइनमा उभिदै आएका थिए । दशौं महाधिवेशनसम्म पनि उनी र केपी ओली एक लाइनमा पार्टी भित्रका गतिविधिमा रहेका थिए ।

तर, प्रदेशको नाम कोशी रहेपछि नेम्वाङ पहिचान पक्षधरले उठाउँदै आएको मुद्दलाई सहज रुपमा सम्बोधन गर्नुपर्ने तर्क पार्टीका आन्तरिक फोरममा राख्दै आएका थिए । विशेष गरि कोशी प्रदेश अधिवेशनमा नेम्वाङ त्यसमा केहि लचिलो हुने व्यक्तिलाई नेतृत्वमा अगाडी सार्ने मनस्थितिमा थिए । उनको निधनपछि त्यो नेतृत्व को भन्ने यकिन हुन पाएन । कोशीमा चलिरहेको पहिचान बहसमा एमाले भित्र ‘विरोधी’ लाइन हावी भयो । यो हुँदा अहिले एमाले भित्र सफ्टकर्नरमा बसेर पहिचान बहसलाई बुझिरहेकाहरुले नेम्वाङलाई सम्झदैं अधिवेशनस्थलमा कुरा गरिरहेको सुनिन्थ्यो । यद्यपी यो अधिवेशनमा कोशी अध्यक्षका उमेदवार ढकालले भने नेम्वाङसँग उनको निधन हुनु भन्दा अघिल्लो बेलुका ९ः३० बजे फोनमा छोटो कुरा गरेको विषय बाहिरिएको थियो । तर, उनीसँग के कुरा भएको भन्ने अहिलेसम्म ढकालले सार्वजानिक गरेका छैनन् ।  विरोधी नेताहरुले भने ढकाललाई पहिचानमा सफ्ट देखिएको भन्ने आरोप लगाउँदै आएको एकजना कार्यकर्ताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्