विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगरले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल पुग्नका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गरेकी छिन् । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यबाहक मेयर कार्कीले जानकारी दिइन् ।

दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ । त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएका छन् । विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग गरिने छैन ।

विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्रलगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

एम्बुलेन्स सेवाका लागि ९७६२९५९२२४ र ९७६२९५९२२५ यस नम्बरमा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्