कोशीको ओपीडीमा एमआरको भीड

कोशीको ओपीडीमा एमआरको भीड

विराटनगर । सरकारी अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को भीड लाग्दा सेवा लिन आएका सेवाग्राहीले भने समस्या झेल्नु पर्ने बाध्यता सहँदै आएका छन् । दैनिक सरकारी अस्पताल कोशीमा औषधीको बजार प्रवद्र्धन गर्न आउनेका कारण ओपीडी सेवा लिन आउने सेवाग्राही ‘वेटिङ्ग’ रुममा थर्थरै काम्दै उभिन बाध्य बन्ने गरेका हुन् ।

मंगलबार अस्पतालको ‘पिक आवर’मा कोशीमा पुग्दा ओपीडी ब्लक बाहिर बिरामी बस्ने सिटहरुमा एमआर बसिरहेका थिए । सेवा लिन आएका एकजना सेवाग्राहीले बस्ने चाहना राख्दा समेत ठाउँ पाईरहेका थिएनन् । मोरङको जहदा गाउँपालिकाबाट बिरामी लिएर आउनु भएका भगवान मण्डलले राम्रो कपडा लगाएर आउनेहरु पनि डाक्टर हुन् की भने जस्तो लाग्ने गरेको बताउनुभयो ।

औषधी उत्पादक र वितरण कम्पनीका प्रतिनिधि औषधीको मार्केटिङ गर्न सरकारी अस्पतालमा घुँईचो लाग्दा सेवाग्राहीका लागि सधैं ओपीडी बाहिर अस्तव्यस्त वातावरण हुने गरेको छ । डाक्टरसँग भेटेर उनीहरुले औषधीसँग सम्बन्धित जानकारी दिनुपर्ने पेसा भएपनि सरकारी अस्पतालमा निजी कम्पनीको बजार प्रवद्र्धनले सेवाग्राही भने असजिलोमा पर्ने गरेका हुन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले बिरामी परीक्षण गर्ने समयमा वा बिरामीको पूर्जा बाँकी रहँदासम्म डाक्टरसम्म एमआरलाई भेट्न जान नदिने गरेको दावी गर्नुभयो । मेसु झाले औषधीको मार्केटिङ गर्ने पेसा भएका उनीहरुले चिकित्सकसम्म आएर जानकारी गराउनु अधिकार भएको बताउनुभयो । तर, सरकारी अस्पताल भित्रको त्यो उपस्थितिले बिरामीलाई पारेको असजिलोको बारेमा मेसु झाको सतही जवाफ थियो ।

उहाँले ओपीडी अगाडी बसेपनि बिरामीको स्वास्थ्य जाँच भईरहेका बेला डाक्टरको कोठामा जान एमआरलाई छुट नभएको दावी गर्दै परीक्षणमा आउने बिरामीले काटेको पूर्जा सकिएपछि डाक्टरसँग परामर्श गर्न दिइने गरेको जानकारी दिनुभयो । ‘सबै सरकारी अस्पतालमा यो हुन्छ’ मेसु झाले भन्नुभयो–कोशीमा पनि यो हुन्छ र बाहिर क्लिनिकमा पनि एमआरहरु पुगिरहेका हुन्छन् ।
नयाँ–नयाँ औषधी बजारमा आईरहने भएपछि त्यसको प्रचारका लागि डाक्टरलाई नै भेट्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । यद्यपी यस्तो औषधी बारे कुनै विदाको दिनको अवसर पारेर जानकारी दिने वा सरकारी अस्पताल बाहिर गर्ने गरे सेवाग्राहीले बाह्र झमेला भोग्नु पर्ने थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्