विराटनगर । भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित नेकपा एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरुले शपथ लिएका छन् ।
विराटनगरस्थित होटल कन्चनजंगामा बुधबार अध्यक्षसहित पाँच पदाधिकारी र सदस्यहरुले शपथ लिएका हुन् ।
निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर माहासेढले गराएका थिए ।
एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन् ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । उपसचिवमा झापाकी जलवर्षा राजवंशीले र खोटाङका देवान राई विजयी भएका छन् । प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरेका छन् ।