विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिकमा ट्रक ठोक्किएर दुर्घटना भएको छ । बीच सडकमा निर्माण गरिएको शालिकमा बिहिबार राती पौने ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो ।
शालिकमा ठोक्किएर दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भएका ट्रक चालक टोपबहादुर कार्कीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । घाइते चालकको अहिले विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।
दुर्घटनामा ट्रकको अघिल्लो भागमा बढी क्षति पुगेको छ । अगाडी पटिको दुईवटा चक्का काम नै नलाग्ने भएको छ । दुर्घटनामा परेको ट्रक र शालिकलाई राती नै प्रहरी र स्थानियवासीले क्रेन लगाएर व्यावस्थापन गरेका छन् ।
यसअघि पनि टिपरको ठक्करले उक्त स्थानमा रहेको सालिक दुई पटक भत्केको थियो । पछिल्लो पटक लायन्स क्लबले बनाएको बरगाछीको सालिक टिपरको ठक्करले भत्किएपछि स्थानीयले मातृका, विशेश्वर र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको सालिक निर्माण गरेका थिए । उक्त स्थानमा पहिला बरको रुख हुने गरेको हुनाले उक्त ठाउँलाई बरगाछी भनिन्थियो तर बिगतमा रुखको ठाउँमा सालिक बनाइएको थियो । बरगाछीमा सालिक निर्माण गरेको विषय विवाद समेत बन्दै आएको थियो ।