जिल्ला नगर र वस्तुगत संघको क्षमता र संस्थागत सवलिकरण गर्दै नेउवा महासंघ कोशी

जिल्ला नगर र वस्तुगत संघको क्षमता र संस्थागत सवलिकरण गर्दै नेउवा महासंघ कोशी

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम थालनी गरेको छ । महासंघले विराटनगरमा दुईदिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम अघि बढाएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले बिषम् परिस्थितिका कारण हुन नसकेको नगर, जिल्ला र वस्तुगत संघहरुसँगको सम्बन्धलाई आगामी दिनमा सुमधुर बनाउँदै लैजान र संघका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व क्षमता विकास गर्न कार्याशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको छ । वहाँले कार्यशालाबाट संघको सचिवालयको कार्यक्षेत्र अझ बलियो हुने र महासंघको मर्म अनुसार संघहरु अघि बढ्न मद्दत पुग्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहराले सदस्य संस्थाको नेतृत्व विकासका लागि दुई दिने कार्यशाला महत्वपूर्ण हुने बताउनु भयो । उहाँले महासंघले जहिले पनि नगर, जिल्ला र वस्तुगत संघहरुसँगै मिलेर हिंड्दै आएको बताउनु भयो ।
नेपाल शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) र द एशिया फाउण्डेशनको सहयोगमा आयोजित कार्यशालामा बोल्दै नियर्सका अध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षहरुको संस्थागत विकासका लागि कार्यशाला महत्वपूर्ण अवसर भएको बताउनु भयो । उद्योग तथा व्यापार क्षेत्रको सहजीकरणमा समेत छलफलका माध्यमबाट स्पष्ट हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कार्यशालाको उदेश्यबारे जानकारी दिंदै नियर्सका सदस्य ओम धरानन्द राजोपाध्यायले महासंघका विभिन्न फोरमहरुबाट सदस्य संस्थाहरुको क्षमता विकासको आवश्यकता रहेको कुरा औंल्याइएकोले सहकार्य गरेर कार्यशाला आयोजना गरिएको जानकारी गराउनु भयो ।

 

कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा जिल्ला नगर उद्योग बाणिज्य संघ मध्ये ३६ वटा संघका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिवहरु, एंव विभिन्न वस्तुगत संघका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागीता रहेको छ । सहभागीहरुले महासंघका सदस्यहरुको संख्या घट्दै गएको र उद्योगी व्यापारी क्षेत्रमा निसारा बढ्दै गएकोको बेलामा यस्ता कार्यशालाहरुले उत्प्रेरित बनाउन मद्दत पुग्ने अपेक्षा लिएको बताएका छन् । वहाँहरुले सुझाव अनुसार नै छलफल गर्दै मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनु भएको छ । दुई दिने कार्यशालाको समापन शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्